काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले वर्षायाममा नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न रोक लगाउने कानुनी व्यवस्था समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै तामाङले विद्यमान कानुनी व्यवस्थाका कारण अवैध रूपमा गिट्टी–बालुवा उत्खनन तथा तस्करी भइरहेको दाबी गरिन्। वर्षायाममा उत्खननमा रोक भए पनि तस्करहरूले रातारात ठूलो परिमाणमा बालुवा निकालेर राज्यलाई राजस्व नतिर्ने गरेको उनको भनाइ छ।
उनले यस्तो समस्या आफ्नो जिल्ला धादिङसहित देशभरका नदी तथा खोलामा देखिएको बताइन्। आफू ढुंगा, गिट्टी र बालुवा उत्खननकै विरोधमा नरहेको स्पष्ट पार्दै तामाङले यसको व्यवस्थापनमा कानुन बाधक बन्न नहुने बताइन्।
वातावरण संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम हुने गरी वातावरण संरक्षण ऐन, २०७६ मा रहेको क्रसर तथा खानी सञ्चालनसम्बन्धी व्यवस्था समयअनुकूल संशोधन गर्न उनले सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्