काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारसँग प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को आरोप लगाउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शाहीले आफूहरू जनताले प्रश्न गर्न निर्वाचित गरेर पठाएको भन्दै प्रतिपक्षमा रहेकाले सरकारका कामकारबाहीमाथि प्रश्न गर्न पाउनुपर्ने बताए।
उनले आफूले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो तथा परिवारको चरित्र हत्या गर्न सत्तारूढ दलका कार्यकर्ता लागेको आरोपसमेत लगाए। उक्त अभिव्यक्ति संवैधानिक आयोग तथा मानव अधिकार आयोगका प्रतिवेदनका आधारमा दिएको दाबी गर्दै त्यसमा अप्रमाणित कुरा नरहेको उनको भनाइ छ।
आफू उमेरले सरकारमा रहेका नेताभन्दा कान्छो भए पनि राजनीतिमा भने उनीहरूभन्दा पुरानो रहेको दाबी गर्दै शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा लगाइने आरोपको खण्डन गरे।
‘प्रतिपक्षले प्रश्न गर्नेबित्तिकै दुईवटा जवाफ आउँछन्—केपी ओलीको कार्यकर्ता र सरकारलाई काम गर्न दिएन। हामी केपी ओलीका कार्यकर्ता होइनौँ,’ उनले भने।
शाहीले विगतमा पनि सरकारको आलोचना गरेकै कारण आफू पटक–पटक आक्रमणमा परेको दाबी गरे। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा समेत संसद्मा उभिएर आफूले सरकारलाई प्रश्न गरेको स्मरण गर्दै उनले जनताले प्रश्न गर्नकै लागि आफूहरूलाई निर्वाचित गरेर पठाएको बताए।
उनले आफूहरू कुनै दलको कार्यकर्ता नभई प्रतिपक्षको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सरकारलाई प्रश्न गर्ने अधिकारबाट पछि नहट्ने स्पष्ट पारे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्