काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रूपमा गिट्टी, बालुवा तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवा तस्करी भइरहेको बताइन्।
उनले बर्खायाममा कानुनअनुसार खोलाबाट गिट्टी र बालुवा निकाल्न निषेध गरिएको भए पनि तस्करहरूले रातारात ठूलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरी राज्यलाई कर नतिरी कारोबार गरिरहेको बताइन्।
‘बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिट्टी र बालुवा निकाल्न निषेधित छ। तर तस्करहरूले एकै रातमा लाखौँ, करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन्,’ उनले भनिन्।
यो समस्या धादिङलगायत देशका अधिकांश नदीमा जटिल बन्दै गएको उनको भनाइ थियो। समस्या नदीजन्य पदार्थको अवैध उत्खननमा मात्र नभई कानुन र प्रक्रियामासमेत रहेको उनले बताइन्।
सम्बन्धित कानुन अपूरो रहेको र भएका कानुनको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै तामाङले हालको अवस्थाअनुसार मापदण्ड संशोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
‘मेरो मनसाय ढुंगा, गिट्टी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन। तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन भन्ने हो,’ उनले भनिन्।
नदीजन्य पदार्थको अवैध कारोबारका कारण सरकारले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको उल्लेख गर्दै उनले अवैध उत्खनन र तस्करी नियन्त्रणसँगै व्यवस्थित रूपमा नदीजन्य पदार्थको उपयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्