काठमाडौँ । भारतको एयर इन्डियाका एक प्रमुख पाइलटको ड्रग परीक्षण पोजेटिभ आएको छ। गत साता फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान अचानक करिब ३०० फिट तल झरेपछि गरिएको परीक्षणमा पाइलटले साइकोएक्टिभ पदार्थ प्रयोग गरेको पुष्टि भएको स्रोतले जनाएको छ।
अगस्ट ४ मा फुकेटबाट दिल्लीका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई–२३७९ अचानक ३०० फिट तल झरेको थियो। घटनामा २० यात्रु र चार चालक दलका सदस्य गरी २४ जना घाइते भएका थिए।
एयर इन्डियाले सुरुमा घटना टर्बुलेन्सका कारण भएको बताएको थियो। तर, विमान नयाँ दिल्लीमा अवतरण गरेपछि चालक दलका सदस्यको साइकोएक्टिभ पदार्थ परीक्षण गरिएको थियो। प्रमुख पाइलटको प्रारम्भिक परीक्षण नन–नेगेटिभ आएपछि नमुना थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो।
घटनाबारे जानकार एक अधिकारीका अनुसार पुष्टि गर्ने परीक्षणमा पाइलटको नतिजा पोजेटिभ आएको छ। पाइलटले गाँजा प्रयोग गरेको पुष्टि भएको उनको दाबी छ।
विमानमा १३७ यात्रु र आठ चालक दलका सदस्य सवार थिए। घटना लगत्तै दुवै पाइलटलाई अनुसन्धान पूरा नभएसम्म उडान सेवाबाट हटाइएको छ।
एएआईबीले गरिरहेको छ अनुसन्धान
विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी)ले घटनाको अनुसन्धान गरिरहेको छ। नागरिक उड्डयन मन्त्रालयका अनुसार अनुसन्धान र निर्धारित प्रक्रिया पूरा नभएसम्म दुवै पाइलटलाई ‘अफ–रोस्टर’ गरिएको छ।
अनुसन्धानको निष्कर्ष र पुष्टि गर्ने परीक्षणको नतिजाका आधारमा थप नियामकीय कारबाही गरिने मन्त्रालयले जनाएको छ।
यसअघि पाइलटहरूले तयार पारेको प्रारम्भिक त्रुटि प्रतिवेदनमा विमानको अटोपाइलट डिस्कनेक्ट हुनुलगायत केही प्राविधिक समस्या देखिएको बताइएको थियो। यद्यपि, एयर इन्डियाले अनुसन्धान जारी रहेकाले घटनाबारे कुनै निष्कर्षमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
एयर इन्डियाका प्रवक्ताले अनुसन्धानमा सम्बन्धित निकायलाई आवश्यक सहयोग गरिरहेको बताएका छन्।
दुई चालक दलका सदस्य अस्पतालमा
भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडू किञ्जरापुले घटनामा मेरुदण्डमा चोट लागेका चालक दलका दुई सदस्य अझै फोर्टिस अस्पतालमा उपचाररत रहेको जानकारी दिएका छन्।
एएआईबीले घटनाका सम्पूर्ण परिस्थितिको अनुसन्धान गरिरहेको छ। अनुसन्धान र निर्धारित परीक्षण प्रक्रियाको निष्कर्षका आधारमा आवश्यक नियामकीय कारबाही हुने मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्