काठमाडौं । प्रेम सम्बन्धमा खिचिएका निजी फोटो तथा भिडियोको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गर्ने घटना बढ्दै गएका छन् । सम्बन्ध बिग्रिएपछि पूर्वप्रेमी–प्रेमिकाले एकअर्कालाई बदनाम गर्ने उद्देश्यले निजी सामग्री सार्वजनिक गर्ने क्रम बढेसँगै साइबर अपराध प्रहरीका लागि चुनौती बन्दै गएको छ ।
ओखलढुंगा चम्पादेवी गाउँपालिका–६ का २४ वर्षीय सरोज कार्की र उनकी पूर्वप्रेमिका सविना (नाम परिवर्तन) लामो समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धकै क्रममा खिचिएका निजी फोटो तथा भिडियो सरोजले मोबाइलमा सुरक्षित राखेका थिए । सविनाले आफ्नो फेसबुकको पासवर्डसमेत सरोजलाई विश्वासका कारण दिएकी थिइन् ।
सम्बन्ध बिग्रिएपछि भने सरोजले सविनाका निजी फोटो तथा भिडियो उनकै फेसबुक खाताबाट सार्वजनिक गर्न थाले । सविनाले रोक्न आग्रह गरे पनि उनले नमानेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । असार २६ गते साइबर ब्युरो, भोटाहिटीमा उजुरी परेपछि प्रहरीले सरोजलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाइएको छ ।
सोही दिन काठमाडौंमा बस्दै आएका भारतको गुहाटीका २६ वर्षीय जावरुल हक पनि प्रेम सम्बन्धका क्रममा खिचिएका तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल तथा सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका थिए ।
यस्तै, साउन १७ गते रुपन्देहीका ३९ वर्षीय जनक भूसाललाई फेसबुकमा साथी थप्ने तथा युट्युबमार्फत भ्रमपूर्ण भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
हजारौँ उजुरी
सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराधसम्बन्धी उजुरी पनि उल्लेख्य रूपमा बढेको प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै साइबर ब्युरोमा १६ हजार ७१३ वटा निवेदन परेका थिए ।
ब्युरोका अनुसार सामाजिक सञ्जालमार्फत हुने बुलिङ तथा हैरानीसम्बन्धी ४ हजार ३६२ उजुरी परेका छन् । यस्तै, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत भएका अवैध गतिविधिसम्बन्धी २० हजार ५४५ उजुरी दर्ता भएका छन् । आर्थिक अपराध तथा स्क्यामसम्बन्धी ७ हजार ४१० उजुरी समेत प्रहरीमा पुगेका छन् ।
साइबर ब्युरोले काम थालेयता हालसम्म ५६ हजार ७०६ वटा निवेदन प्राप्त गरिसकेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३५७ वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३०१ पुगेको थियो । आर्थिक वर्ष २०८०/८१ मा मात्रै १९ हजार ७३० उजुरी दर्ता भएका थिए ।
फेसबुक र टिकटकबाट हुने अपराधको संख्या तुलनात्मक रूपमा बढी रहेको प्रहरीको भनाइ छ । फेसबुक, टिकटक, भाइबर, इमो, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टेलिग्राम, गुगल तथा इमेलमार्फत पीडित भएका व्यक्तिले ब्युरोमा उजुरी दिने गरेका छन् ।
‘एन्टी साइबर स्क्याम’ सेन्टर बनाइँदै
साइबर अपराध बढ्दै गएपछि प्रहरीले सामाजिक सञ्जालको निगरानीका लागि छुट्टै डेस्कमार्फत अनुसन्धान गर्दै आएको छ । आर्थिक ठगीका घटना नियन्त्रण गर्न साइबर ब्युरो मातहत ‘एन्टी साइबर स्क्याम’ सेन्टर स्थापना गर्ने तयारीसमेत गरिएको छ ।
प्रहरीका अनुसार उक्त केन्द्रमा नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र, नेपाल दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक क्षेत्रका प्रतिनिधिलाई समेत सहभागी गराइनेछ ।
साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सिम प्रयोगकर्ताको लोकेसन ट्रेसिङ, फेस रिकग्निसन प्रणाली तथा डिजिटल फरेन्सिक प्रविधिको प्रयोग र प्रयोगशाला सुदृढीकरण गर्ने योजना पनि प्रहरीले अघि सारेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्