रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। देवाही गोनाही नगरपालिका–१ करुनियामा मंगलबार दिउँसो तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार करमे आलमका १० वर्षीय छोरा मोहमद रमतुला र हिसी अकतरकी १० वर्षीया छोरी सबनम खातुनको शव फेला परेको हो।
प्रहरीका अनुसार रमतुलाको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणमा र सबनमको शव करिब ५.२ किलोमिटर दक्षिणमा लालबकैया नदी किनारमा फेला परेको हो।
अस्थायी प्रहरी पोस्ट जिंगडवाबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनीको कमान्डमा खटिएको टोलीले शव फेला पारेको हो। शवको कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमान्डमा थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
एक बालिका अझै बेपत्ता
घटनामा बेपत्ता भएकी १० वर्षीया रौशन खातुन अझै फेला परेकी छैनन्। उनको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।
लालबकैया नदीमा पानीको बहाव बढी रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल आसपासका क्षेत्रमा स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी राखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्