काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले चुनावअघि विदेशका गल्लीमा स्टिकर टाँसेर युवालाई स्वदेश फर्काउने घोषणा गरेको सरकारको योजना कहाँ पुगेको भन्दै प्रश्न गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्दै आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले चुनावअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै सरकारको कामप्रति प्रश्न उठाएका हुन्।
उनले २०८२ भदौको तेस्रो साता भएको जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको उल्लेख गर्दै वर्तमान सरकार त्यही जनादेश र मतादेशको प्रतिनिधित्व गर्दै आएको दाबी गरे।
सरकारले १०० दिनभित्र विदेशमा स्टिकर अभियान सञ्चालन गरी विदेशिएका युवालाई स्वदेश फर्काउने घोषणा गरे पनि हालसम्म एक जना युवालाई समेत फर्काउन नसकेको आङ्देम्बेको आरोप छ।
उनले प्रश्न गरे, “जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?”
चुनावअघि अमेरिका, क्यानडा र युरोपका विभिन्न स्थानमा पुगेर सरकार बनेको १०० दिनभित्र स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरिएको स्मरण गर्दै उनले उक्त प्रतिबद्धता युवाले नबिर्सिएको बताए।
सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको उनको भनाइ छ। सरकारका घोषणाबाट उत्साहित युवाहरू फेरि निराशातर्फ फर्किन थालेको आङ्देम्बेले बताए।
देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपाली र विवेक मण्डलले गरेको आत्मदाहलाई उनले युवामा बढ्दो निराशाका ज्वलन्त घटनाका रूपमा उल्लेख गरे।
आङ्देम्बेले युवालाई केवल मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्