बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत पुर्याइएको छ। नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार उपकरण बडीमालिका क्षेत्रमा पुर्याएको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। सोहीअनुसार टेलिकमले उपकरण जडानको काम अघि बढाएको हो।
भौगोलिक कठिनाइका कारण सडकमार्फत सामग्री ढुवानी गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको थियो।
टेलिकमका अनुसार जडानस्थलमा आवश्यक सामग्री पुगेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिनेछ। यसका लागि जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट सम्भावित सहयोगबारे बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको छ।
बडीमालिकामा फोर–जी सेवा
नेपाल टेलिकमले बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। यसअघि साउनभित्रै सेवा सुरु गर्ने लक्ष्य भए पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही ढिलाइ हुन सक्ने बताइएको छ।
सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवा विस्तारलाई प्राथमिकता दिएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ।
यसअघि डोल्पाको लहान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ।
१ हजार ६०० नयाँ साइट निर्माण हुँदै
दूरसञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा सेवा विस्तार गर्न देशभर करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ।
ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्