काठमाडौं। एनसेलले देशका विभिन्न जिल्लाका २०० भन्दा बढी मोबाइल टावरबाट उपलब्ध हुँदै आएको थ्रीजी सेवा आजदेखि बन्द गर्ने भएको छ।
कम्पनीले फोरजी सेवाको पहुँच विस्तार गर्दै नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्न लागेको जनाएको छ।
भदौ १ गतेदेखि गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका पाल्पा र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ।
थ्रीजी बन्द भएपछि ग्राहकलाई फोरजी सेवामा अपग्रेड हुन एनसेलले आग्रह गरेको छ। कम्पनीका अनुसार फोरजीसँगै ‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा तीव्र डेटा सेवा लिन सकिन्छ।
भोल्टे सेवा सक्रिय गर्न १२३११# डायल गर्नुपर्नेछ। त्यसपछि मोबाइलको सेटिङमा गएर भोल्टे विकल्प अन गर्नुपर्ने कम्पनीले जनाएको छ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार कम्पनीले योजना अनुसार काम गर्न सके सन् २०२७ को पहिलो त्रैमासिकभित्र देशभरबाट थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको छ।
थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी फोरजी सेवामा प्रयोग गरिनेछ। एनसेलले हाल फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यामा विस्तार गरिसकेको जनाएको छ।
थ्रीजी बन्द हुने स्थानमा गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चे तथा लमजुङका मर्स्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीसहरलगायत स्थानीय तह छन्।
त्यस्तै, बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायत क्षेत्रमा पनि थ्रीजी सेवा बन्द हुनेछ।
कैलालीका टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायत स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द हुने एनसेलले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्