काठमाडौं । नागपञ्चमीका अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न नागस्थान, मन्दिर, पोखरी तथा देवालयमा भक्तजनको घुइँचो लागेको छ।
नागपञ्चमीको अवसरमा भक्तजनले नागको पूजा–आराधना तथा दर्शन गर्दै धार्मिक विधिअनुसार पर्व मनाइरहेका छन्। बिहानैदेखि काठमाडौंको पशुपतिनाथ परिसरमा रहेको वासुकिनाथ मन्दिर, काठमाडौं महानगरपालिका–१ स्थित नागपोखरी तथा कीर्तिपुर नगरपालिका–६ को टौदहलगायतका स्थानमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।
विशेषगरी नागपोखरीमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। नागपञ्चमीका अवसरमा यहाँ विशेष पूजा तथा आराधना भइरहेको छ।
नागपोखरीमा नित्य पूजाका लागि बिहानै पोखरी खुला गरिएको थियो। नित्य पूजा सम्पन्न भएपछि सर्वसाधारण भक्तजनलाई पूजा, आराधना तथा दर्शनका लागि पोखरी परिसर खुला गरिएको काठमाडौं महानगरपालिका–१ का सदस्य रोशन श्रेष्ठले जानकारी दिए।
नागपोखरीमा आज विशेष मेलासमेत आयोजना गरिएको छ। मेलामा पूजा–आराधनाका लागि आउने भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
धार्मिक मान्यताअनुसार नागपञ्चमीका दिन नागको पूजा तथा आराधना गर्दा नागदेवता प्रसन्न हुने र सर्पको भयबाट रक्षा हुने विश्वास गरिन्छ। यस दिन घरका मूलढोकामाथि नागको चित्र टाँस्ने तथा दूध, दही, अक्षता, फूललगायत सामग्रीले नागको पूजा गर्ने परम्परा पनि छ।
काठमाडौं उपत्यकाका विभिन्न नागस्थानमा बिहानैदेखि भक्तजनको भीड बढेपछि सम्बन्धित क्षेत्रको धार्मिक वातावरण उल्लासमय बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्