काठमाडौँ । विदेशमा बस्ने नेपालीले अब विदेशी मुद्रामै नेपालको आईपीओमा लगानी गर्न पाउने सम्भावना बढेको छ। गैरआवासीय नेपालीको सक्रियतामा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि विदेशमा रहेका नेपालीको नेपालको पुँजी बजारमा प्रत्यक्ष सहभागिताको नयाँ बाटो खुलेको हो।
पछिल्लो व्यवस्थाअनुसार फन्डले आफ्नो जारी पुँजीको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ विदेशी मुद्रामै निष्कासन गर्नेछ। यसको महत्वपूर्ण पक्ष भनेको लगानी मात्र विदेशी मुद्रामा गर्न पाउने नभई, तोकिएको व्यवस्थाअनुसार लगानीबाट प्राप्त प्रतिफलसमेत विदेशी मुद्रामै फिर्ता लैजान सकिने व्यवस्था हो।
यसले विदेशमा रहेका नेपालीलाई डलर, पाउन्ड, युरोलगायत विदेशी मुद्रा पहिले नेपाली रुपैयाँमा रूपान्तरण गरेर पुनः लगानी गर्नुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकको व्यवस्थाले पनि सहज बनाउँदै
यो व्यवस्था एउटा फन्डको आईपीओमा लगानी गर्ने अवसरमा मात्र सीमित नभई विदेशमा रहेका नेपालीको नेपालको वित्तीय प्रणालीसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
नेपाल राष्ट्र बैंकका प्रचलित व्यवस्थाअनुसार निश्चित सर्त पूरा गर्ने विदेशमा रहेका नेपाली तथा परिवर्त्य विदेशी मुद्राबाट आम्दानी गर्ने व्यक्ति वा संस्थाले नेपालमा विदेशी मुद्रा खाता सञ्चालन गर्न सक्ने व्यवस्था छ।
त्यस्तै, विदेशमा आर्जन गरेको विदेशी मुद्रा वा त्यसबाट गरिएको लगानी विदेशमै राख्न सकिने विषयमा पनि निश्चित कानुनी तथा नियामकीय व्यवस्था रहेको छ। नेपाल फर्किएपछि त्यस्तो खाता वा लगानी कायम राख्ने अवस्थामा भने सम्बन्धित विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था लागू हुन सक्छ।
बैंकिङ पहुँचसँगै लगानीको अवसर
पछिल्ला वर्षमा विदेशमा रहेका नेपालीका लागि नेपालमा बैंकिङ तथा लगानीको पहुँच विस्तार हुँदै गएको छ। बैंक तथा वित्तीय संस्थामार्फत विदेशी मुद्रामा निक्षेप राख्ने, रेमिट्यान्स पठाउने तथा आवश्यक नियामकीय प्रक्रिया पूरा गरेर नेपालमा लगानी गर्ने आधार विस्तार भएको छ।
अब विदेशी मुद्रामै आईपीओमा लगानी गर्न सकिने व्यवस्थाले यो प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। विदेशमा कमाएको रकम नेपाल पठाएर नेपाली रुपैयाँमा रूपान्तरण गरेपछि मात्र सेयर किन्नुपर्ने अवस्थाको विकल्पका रूपमा विदेशी मुद्रामै लगानी गर्ने संरचना विकास हुँदैछ।
यद्यपि, विदेशमा बस्दैमा सबै नेपालीले स्वतः सबै प्रकारका विदेशी लगानी तथा बैंकिङ सुविधा पाउने भने होइन। गैरआवासीय नेपाली, गैरआवासीय नेपाली संघका सदस्य तथा नेपालमा विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिकलाई लागू हुने व्यवस्था फरक हुन सक्छ। त्यसैले आईपीओमा विदेशी मुद्राबाट लगानी तथा त्यसबाट प्राप्त प्रतिफल विदेश लैजाने क्रममा सम्बन्धित बैंकिङ, विदेशी विनिमय तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
फन्डको ५० अर्बको लक्ष्य
एनआरएन नेपाल डेभलपमेन्ट फन्डले आगामी पाँच वर्षमा आफ्नो पुँजी ५० अर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य लिएको छ। फन्डले जलविद्युत्, सडक, पर्यटन, ऊर्जा, कृषि, उत्पादन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा ठूला पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्ने योजना अघि सारेको छ।
यसले विदेशमा रहेका नेपालीको बचतलाई व्यक्तिगत सम्पत्ति निर्माणमा मात्र सीमित नराखी नेपालका उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा परिचालन गर्ने सम्भावना बढाएको छ।
पुँजी बजारमा डायस्पोराको नयाँ भूमिका
विदेशी मुद्रामै आईपीओ भर्न पाउने व्यवस्था कार्यान्वयनमा आएमा विदेशमा रहेका नेपालीका लागि यो सेयर बजारमा लगानी गर्ने सुविधाभन्दा पनि विदेशी मुद्रा, बैंकिङ पहुँच र नेपालको विकासमा प्रत्यक्ष लगानीलाई एउटै संरचनामा जोड्ने प्रयास बन्न सक्छ।
ठूलो संख्यामा रहेका गैरआवासीय नेपालीको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न सके यसले नेपालको पुँजी बजार, लगानी र विदेशी मुद्रा प्रवाहमा सकारात्मक प्रभाव पार्ने सम्भावना देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्