काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसहित चारवटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँघुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।
त्यस्तै, विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार गरी चुस्तदुरुस्त राख्न तथा ती संरचना प्रयोग गर्दा सर्वसाधारणमाथि अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न पनि प्राधिकरणलाई निर्देशन दिइएको सभापति बुढाथोकीले जानकारी दिए।
उद्योग र जलविद्युत् क्षेत्रमा पनि निर्देशन
समितिले नेपालमा सञ्चालित उद्योगहरूका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
यस्तै, प्रभावित स्थानीयले पाउने सुविधा सुनिश्चित गर्दै जलविद्युत् क्षेत्रमा भएको लगानी तथा लगानीकर्ताको सुरक्षाको प्रत्याभूति यथाशीघ्र गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ।
जलविद्युत् आयोजनामा स्थानीयका विभिन्न मागका कारण अवरोध सिर्जना हुने र त्यसबाट आर्थिक बार्गेनिङको अवस्था उत्पन्न हुँदा लगानीकर्तामा असुरक्षा बढेको समितिको निष्कर्ष छ।
समितिले स्थानीयवासीको जायज सुविधा सुनिश्चित गर्दै जलविद्युत् क्षेत्रमा भएको लगानीको सुरक्षा गर्नुपर्नेमा जोड दिएको छ। लगानीको सुरक्षा सुनिश्चित भएमा जलविद्युत् क्षेत्रमा थप लगानी भित्र्याउन र लगानीकर्तालाई प्रोत्साहित गर्न सहयोग पुग्ने समितिको अपेक्षा छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्