सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ लिपिङपारि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खस्दा भोटेकोसी नदीको बहावमा अवरोध भएको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो सूचना जारी गर्दै चीनको न्यालमस्थित झिम्मु पोस्ट, लिपिङपारिको भिरबाट पहिरो खसिरहेको र त्यसले चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव आधाजति रोकिएको जनाएको छ।
स्थानीय प्रहरीबाट प्राप्त जानकारीका आधारमा महाशाखाले नदीको बहावमा अवरोध आएको जानकारी गराएको हो।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै भोटेकोसी तथा सुनकोसी नदीको दोलालघाटसम्मको नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदी किनारमा रहेका स्थानीयवासीलाई सुरक्षित दूरी कायम गर्न र सम्भावित बाढी तथा नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पहिरोका कारण नदीमा बनेको अवरोधको अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सम्बन्धित निकायले निगरानी गरिरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्