काठमाडौं । प्रहरी कार्यालय तथा हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
कानुन विषयको अध्ययन गरिरहेका विवेक चौधरीलगायतले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तय भएको छ।
रिट निवेदकहरूले प्रहरी कार्यालय तथा हिरासत कक्षमा दिनरात निरन्तर निगरानी हुने गरी सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने माग गरेका छन्। क्यामेरामा नाइट भिजनसहित अडियो तथा भिडियो दुवै रेकर्ड गर्ने प्रविधि हुनुपर्ने उनीहरूको माग छ।
त्यसैगरी, सीसीटीभीबाट रेकर्ड भएको फुटेजलाई प्रमाणका रूपमा प्रयोग गर्न सकिने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गर्न पनि रिट निवेदकहरूले माग गरेका छन्।
प्रहरी कार्यालय तथा हिरासतमा हुने गतिविधिको पारदर्शिता र निगरानी सुनिश्चित गर्न सीसीटीभी फुटेज महत्वपूर्ण प्रमाण बन्न सक्ने भन्दै यस्तो व्यवस्था अनिवार्य गर्न माग गरिएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्