जाजरकोट र बाजुरामा अविरल वर्षाका कारण बाढी तथा पहिरोमा परी जनधनको क्षति भएको छ।
जाजरकोटको नलगाड नगरपालिका–१० मा बिहीबार राति परेको अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले चारवटा घर, एउटा खाजा पसल र एउटा झोलुङ्गे पुल बगाएको छ।
प्रहरीका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन विपद् व्यवस्थापन बेस दल्ली, जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बाजुरामा पहिरोमा एकको मृत्यु
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा शुक्रबार बिहान वर्षाका कारण पहिरो खस्दा दुईवटा घर बगेका छन्। बिहान ५ः१५ बजे खसेको पहिरोमा परी एक जना बेपत्ता र दुई जना घाइते भएको खबर पाएपछि सशस्त्र प्रहरी बल, नेपाल गुल्म बाजुराबाट उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार खोजीका क्रममा बिहान ८ः१५ बजे सोही ठाउँकी २० वर्षीया प्रतीक्षा थापाको शव फेला परेको छ।
घटनाबाट भएको अन्य क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्