काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का वरिष्ठ सल्लाहकार मोहम्मद रजा नक्दीले अमेरिका–इरानबीचको युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान कार्यकालको अन्त्यसम्मै लम्बिन सक्ने संकेत दिएका छन्।
नक्दीका अनुसार इरानले युद्धलाई छोटो समयमै टुंग्याउनेभन्दा पनि लामो समयसम्म जारी राखेर अमेरिकामाथि सैन्य तथा आर्थिक दबाब बढाउनेरणनीति अपनाउन सक्छ। यसको मुख्य उद्देश्य भविष्यमा इरानमाथि कुनै पनि देशले सैन्य आक्रमण गर्नुअघि त्यसको सम्भावित मूल्यबारे गम्भीर रूपमा सोच्नुपर्ने अवस्था सिर्जना गर्नु रहेको उनले बताएका छन्।
मंगलबार ‘पीबीएस न्युजआवर’सँगको अन्तर्वार्तामा नक्दीले युद्ध लम्ब्याउनु इरानका लागि एउटा सम्भावित विकल्प भएको बताएका हुन्। उनका अनुसार युद्ध अमेरिकी राष्ट्रपतिको आगामी कार्यकालसम्मै लम्बिन सक्ने र यस अवधिमा अमेरिकाले निरन्तर आर्थिक तथा सैन्य क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।
उनले इरानको रणनीतिक लक्ष्य केवल अहिलेको युद्धमा विजय हासिल गर्नु नभई दीर्घकालीन प्रतिरोधात्मक क्षमता अर्थात् ‘डिटरेन्स’ निर्माण गर्नुरहेको बताए।
नक्दीले इरानले वर्तमान युद्धमा आफूलाई विजेता माने पनि अन्तिम रणनीतिक उद्देश्य अझै पूरा नभएको बताएका छन्। युद्ध लामो समयसम्म जारी रहे इरानी सेनाले अमेरिकी सैन्य क्षमताबारे थप अनुभव हासिल गर्ने र अमेरिकामाथि निरन्तर लागत बढाउन सक्ने उनको दाबी छ।
उनका अनुसार इरानका लागि सबैभन्दा महत्वपूर्ण कुरा यस्तो प्रतिरोधात्मक क्षमता विकास गर्नु हो, जसका कारण भविष्यमा कुनै पनि सम्भावित शत्रुले इरानमाथि आक्रमण गर्ने निर्णय लिनुअघि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखोस्।
नक्दीले युद्धका क्रममा इरानले अमेरिकी सैन्य शक्तिबारे नयाँ अनुभव हासिल गरिरहेको दाबी गरे। उनले अमेरिकाको सैन्य क्षमता बाहिरबाट देखिएजस्तो अजेय नभएको संकेतसमेत दिए।
मिसाइल उत्पादनबारे इरानको ठूलो दाबी
आईआरजीसीका वरिष्ठ सल्लाहकार नक्दीले इरानको मिसाइल क्षमताबारे पनि ठूलो दाबी गरेका छन्।
उनका अनुसार इरानले युद्धका क्रममा दैनिक प्रहार गरिरहेको भन्दा धेरै संख्यामा मिसाइल उत्पादन गरिरहेको छ। विभिन्न स्थानमा मिसाइल उत्पादन गर्न सक्ने क्षमता इरानसँग रहेको र युद्ध वर्षौंसम्म जारी रहे पनि निरन्तर रकेट तथा मिसाइल प्रहार गर्न सक्ने उनको दाबी छ।
यसले इरानले आफ्नो मिसाइल क्षमतालाई दीर्घकालीन युद्धका लागि समेत सुरक्षित राखेको संकेत गरेको छ। यद्यपि, नक्दीका दाबीको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
‘मिसाइल सकिए पनि खतरा अझ ठूलो हुन सक्छ’
नक्दीले अमेरिकाका लागि अर्को गम्भीर चेतावनीसमेत दिएका छन्।
उनले कुनै अवस्थामा इरानसँग मिसाइलको भण्डार समाप्त भए पनि अमेरिकाका लागि खतरा समाप्त नहुने दाबी गरे। उनका अनुसार विश्वभर अमेरिकाका हजारौँ आर्थिक तथा व्यावसायिक हित रहेका छन् र तीमध्ये धेरैलाई लक्षित गर्न सकिने अवस्था रहेको उनको भनाइ छ।
तर उनले अमेरिकाका कुन आर्थिक केन्द्र वा संरचना लक्षित हुन सक्छन् र इरानले ती स्थानसम्म कसरी पहुँच बनाउन सक्छ भन्नेबारे कुनै स्पष्ट विवरण दिएका छैनन्।
उनको यो अभिव्यक्तिले इरानले परम्परागत सैन्य लक्ष्यभन्दा बाहिर अमेरिकी आर्थिक तथा रणनीतिक हितलाई समेत सम्भावित दबाबको साधनका रूपमा हेर्न सक्ने संकेत गरेको छ।
दीर्घकालीन युद्धको जोखिम
नक्दीको पछिल्लो अभिव्यक्तिले इरानले युद्धलाई केवल तत्कालीन सैन्य संघर्षका रूपमा नभई दीर्घकालीन रणनीतिक प्रतिस्पर्धाका रूपमा हेरिरहेको संकेत गर्छ।
युद्ध लम्बिँदै जाँदा अमेरिकामाथि सैन्य र आर्थिक लागत बढाउने, आफ्नै सैन्य क्षमता विस्तार गर्ने तथा भविष्यका सम्भावित आक्रमणलाई रोक्ने प्रतिरोधात्मक क्षमता निर्माण गर्ने इरानी रणनीतिक सोच उनको भनाइबाट देखिन्छ।
तर यस्तो रणनीतिले मध्यपूर्वमा युद्धको दायरा अझ फराकिलो बनाउने जोखिमसमेत बढाउन सक्छ। विशेषगरी अमेरिकी आर्थिक तथा रणनीतिक हितलाई लक्षित गर्ने चेतावनी कार्यान्वयनतर्फ गएमा द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर फैलिन सक्ने चिन्ता बढ्न सक्छ।
नक्दीको भनाइलाई इरानको युद्ध रणनीतिबारे हालसम्म सार्वजनिक भएका स्पष्ट संकेतहरूमध्ये एकका रूपमा हेरिएको छ। यद्यपि, उनका दाबीहरू आईआरजीसीको आधिकारिक युद्धनीति कति हदसम्म प्रतिबिम्बित गर्छन् र व्यवहारमा इरानले कस्तो रणनीति अपनाउँछ भन्ने कुरा आगामी घटनाक्रमले स्पष्ट पार्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्