काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगनकुमार थापालाई सभापति भन्न आफूलाई मन नलागेको बताएका छन्।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनलाई आफूहरूले मान्यता दिन नसक्ने बताएका हुन्।
“विशेष महाधिवेशनलाई मान्यता दिन सकिँदैन,” सिटौलाले भने, “गगन भाइलाई सभापति भन्न पटक्कै मन लागेको छैन।”
उनले विशेष महाधिवेशन अवैधानिक ढंगले सम्पन्न गरेर थापा सभापति बनेको दाबी गरे। निर्वाचन आयोगले त्यसलाई मान्यता दिए पनि सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढेकाले गल्ती सच्याउने अवसर रहेको उनको भनाइ छ।
‘गल्ती सच्याउने अवसर छ’
सिटौलाले थापालाई आफ्नो निर्णयबारे आत्मसमीक्षा गर्न आग्रह गरे।
“मानिसबाट गल्ती हुन्छ। आत्मसात् गर्नुपर्छ, सच्याउन सक्नुपर्छ। गल्ती सच्याउने अवसर छ। गल्ती सच्याउनुस्,” उनले भने।
सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खोलेको उल्लेख गर्दै उनले थापाले अब आवश्यक निर्णय लिनुपर्ने बताए।
उनले अरूको सुझावभन्दा पहिले आफ्नै अन्तरआत्मालाई सोधेर निर्णय गर्न थापालाई आग्रह गरे।
ओली सरकारमा सहभागिताको प्रश्न
सिटौलाले थापाले अहिले अरूलाई दोष दिइरहेको भन्दै विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालनमा उनी स्वयं सहभागी भएको स्मरण गराए।
“केपी ओलीको सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेर तपाईंले नै सरकार सञ्चालन गर्नुभयो,” सिटौलाले भने।
निर्वाचन आयोगबाट निर्णय भए पनि त्यसमा त्रुटि भएको हुन सक्ने भन्दै सिटौलाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।
“नेपाली कांग्रेसले न्याय पाउँछ भन्ने मलाई विश्वास छ,” उनले भने।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्