काठमाडौँ । सङ्घीय संसद सचिवालयको आयोजनामा सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गर्नुभएको हो। कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूको सहभागिता थियो।
संसद भवन परिसरलाई प्राकृतिक रूपमा सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताउनुभयो। उहाँले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
“आफूले रोपेको बिरुवालाई कार्यकालभरि निरन्तर रूपमा हेरचाह र संरक्षण पनि गर्नुपर्ने छ,” सभामुख अर्यालले भन्नुभयो।
करिब ५०० बिरुवा रोपिए
नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापनका लागि संसद परिसरमा रोपिने विभिन्न प्रजातिका बिरुवा तथा तिनको स्थान पूर्वनिर्धारित गरिएको थियो।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले करिब ५०० वटा बिरुवा रोपेका छन्।
रोपिएका बिरुवामा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिर, हलुवाबेद, निम, पैयुँ, समी र गुलमोहरलगायत फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजाति रहेका छन्।
संसद परिसरमा विभिन्न प्रजातिका बिरुवा हुर्काउँदै लैजाँदा नयाँ संसद भवन क्षेत्र थप हराभरा र आकर्षक बन्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्