काठमाडौं । दोस्रो क्यूकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले जितेका छन्। शुक्रबार सम्पन्न प्रतियोगितामा काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गर्ल्स तथा भक्तपुर निस्ट सिनियर ब्वाइजतर्फ च्याम्पियन बने।
जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञा कुञ्जलाई ४–१ गोलले पराजित गर्दै उपाधि जित्यो। सिनियर गर्ल्सको उपाधि भिडन्तमा जोन डेवीले इम्पेरियल वर्ल्डलाई ६–० गोलले हरायो। सिनियर ब्वाइजतर्फ भक्तपुर निस्टले कान्जिरोवालाई २–० गोलले पराजित गर्दै उपाधि हात पार्यो।
मण्डिखाटारस्थित काष्ठमण्डप विद्यालयमा भएको प्रतियोगितामा जुनियर ब्वाइजतर्फ काष्ठमण्डपका सिद्धार्थ बज्रचार्य उत्कृष्ट खेलाडी, आयुश खत्री उत्कृष्ट गोलरक्षक र सिभांकराज भट्टराई उदीयमान खेलाडी घोषित भए।
सिनियर गर्ल्सतर्फ जोन डेवीकी तनिष्का विष्ट उत्कृष्ट खेलाडी, इम्पेरियल वर्ल्डकी मान्या शाह उत्कृष्ट गोलरक्षक र जोन डेवीकी जेनी स्याङबा उदीयमान खेलाडी चुनिए।
यस्तै, सिनियर ब्वाइजमा कान्जिरोवाका सन्चितनाथ गंगाल उत्कृष्ट खेलाडी घोषित हुँदा भक्तपुर निस्टका आयाम आचार्य उत्कृष्ट गोलरक्षक र सोही विद्यालयका स्यारोन कटुवाल उदीयमान खेलाडी बने।
विजेता तथा उत्कृष्ट खेलाडीलाई पूर्वफुटबलर नवीन न्यौपाने, काष्ठमण्डप विद्यालयकी निर्देशक तथा प्रिन्सिपल डा. शिवा थापा, कान्जिरोवा विद्यालयका प्रिन्सिपल तथा क्यूकेएसका अध्यक्ष रन्जित थापालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे।
काठमाडौं क्वालिटी स्कुल (क्यूकेएस) को वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १५, सिनियर गर्ल्सतर्फ १२ र सिनियर ब्वाइजतर्फ १६ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताबारे काष्ठमण्डप विद्यालयका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्