काठमाडौँ । पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ। अधिवक्ता वीरभद्र जोशीले भण्डारीविरुद्ध मुद्दा दायर गरेका हुन्।
महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार भण्डारीले न्यायाधीश तथा न्यायिक प्रक्रियाबारे अपुष्ट र आपत्तिजनक आरोप लगाएको दाबी गर्दै अधिवक्ता जोशीले अवहेलनाको मुद्दा दायर गरेका हुन्। मुद्दाको प्रारम्भिक सुनुवाइका लागि आगामी सोमबार पेसी तोकिएको छ।
भण्डारी गालीबेइज्जतीसम्बन्धी मुद्दामा एक महिना सात दिन थुनामा बसेर साउन २३ गते रिहा भएका थिए। रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले न्यायाधीशलगायत न्यायिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूमाथि आरोप लगाएको अधिवक्ता जोशीको दाबी छ।
जोशीका अनुसार भण्डारीले लागुऔषधसम्बन्धी मुद्दाको सन्दर्भमा ‘पुलिस, वकिल, कर्मचारी र न्यायाधीश सबै मालामाल’ हुने गरेको जस्ता अपुष्ट दाबी गरेका थिए। यस्ता अभिव्यक्तिले न्यायपालिका, न्यायाधीश र कानुन व्यवसायीको प्रतिष्ठामा आँच पुर्याउनुका साथै अदालतप्रतिको जनविश्वास कमजोर पार्ने दाबी रिटमा गरिएको छ।
“उहाँले अदालत, न्यायाधीश र कानुन व्यवसायीविरुद्ध अनर्गल र मिथ्या लाञ्छना लगाउनुभएको छ,” अधिवक्ता जोशीले भने, “अदालतको अवहेलनामा हदैसम्मको सजाय माग गरेर मुद्दा दिएको छु।”
मुद्दामा पत्रकार भण्डारीलाई अदालतमा उपस्थित गराई बयान लिन तथा कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
अब सर्वोच्च अदालतले भण्डारीको अभिव्यक्ति अदालतको अवहेलनाको दायरामा पर्छ वा पर्दैन भन्ने विषयमा प्रारम्भिक सुनुवाइपछि आवश्यक आदेश दिनेछ। घटनाले अदालतको आलोचना गर्ने प्रेस स्वतन्त्रताको अधिकार र न्यायपालिकाको गरिमा तथा अवहेलना कानुनबीचको सीमाबारे समेत बहस निम्त्याउने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्