काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने तयारी गरिरहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ तथा व्यवसायीले नीति कार्यान्वयनमा हतार नगर्न सुझाव दिएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शुक्रबार आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवादमा वक्ताहरूले सवारीसाधनको अनुकूलता, इन्धनको गुणस्तर, उत्पादन क्षमता र लागतको विस्तृत अध्ययनपछि मात्रै इथानोल मिश्रण लागू गर्नुपर्ने बताएका हुन्।
भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निकल स्ट्यान्डिङ समिटका अध्यक्ष डा. बलराज भनोटले इथानोल मिश्रणले पेट्रोलियम पदार्थको आयात घटाउन सहयोग गर्ने भए पनि नेपालमा सञ्चालनमा रहेका सबै सवारीसाधन इथानोलयुक्त इन्धनका लागि अनुकूल नभएको बताए।
उनका अनुसार पुराना तथा इथानोल कम्प्लायन्ट नभएका सवारीमा मिश्रित इन्धन प्रयोग गर्दा इन्जिनमा समस्या आउन सक्छ। त्यसैले ब्लेन्डेड इन्धन प्रयोग गर्न नसक्ने सवारीका लागि छुट्टै इन्धन वा पम्पको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
पानी मिसिँदा इन्धनमा समस्या
डा. भनोटले पेट्रोलमा इथानोल मिसाउँदा पानीको सम्पर्क भए ‘फेज सेपरेसन’ हुन सक्ने बताए। यस्तो अवस्थामा इथानोल तल थिग्रिन गई सवारीको इन्जिनमा समस्या आउन सक्ने भएकाले पेट्रोल पम्पमा नियमित गुणस्तर परीक्षणको व्यवस्था आवश्यक रहेको उनले बताए।
भारतमा सन् २००६ मा ५ प्रतिशत इथानोल मिश्रणबाट सुरु गरिएको अभ्यास अहिले ई–२० सम्म पुगेको उल्लेख गर्दै उनले इथानोलको मात्रा तीव्र रूपमा बढाउँदा पुराना सवारीसाधन तथा इन्धन आपूर्ति प्रणालीमा समस्या देखिएको बताए।
उच्च इथानोलयुक्त इन्धनका कारण पुराना सवारीका रबर तथा इलास्टिक पार्टपुर्जामा असर पर्नुका साथै इन्धन चुहावट, गाडी स्टार्ट हुन कठिनाइ र माइलेज घट्ने समस्या आउन सक्ने उनको भनाइ छ।
शुद्ध र मिश्रित दुवै इन्धन उपलब्ध गराउन सुझाव
नाइमा संस्थापक आकाश गोल्छाले नेपालमा इथानोल मिश्रण लागू गर्दा ब्लेन्डेड र शुद्ध पेट्रोल दुवै विकल्प उपलब्ध गराउनुपर्ने बताए।
उनका अनुसार भारतबाट आयात हुने सन् २०१० पछिका अधिकांश सवारी ई–१० इन्धनका लागि अनुकूल भए पनि नेपालमा भारतबाहेक अन्य मुलुकबाट समेत सवारी आयात हुने भएकाले सबै सवारीलाई एउटै मापदण्डमा राख्न नसकिने अवस्था छ।
उनले नेपालमा हालको उत्पादन क्षमताले पेट्रोलमा इथानोलको मागको करिब ३.५ प्रतिशत मात्रै धान्न सक्ने बताए। त्यसैले स्वदेशी उत्पादन बढाउन उत्पादकलाई प्रोत्साहन, स्पष्ट मूल्य निर्धारण, दीर्घकालीन खरिद सम्झौता र नियमित गुणस्तर परीक्षण आवश्यक रहेको उनको भनाइ छ।
वैकल्पिक कच्चा पदार्थ खोज्नुपर्ने
अटो पत्रकार संघ (जाम)का निवर्तमान अध्यक्ष सागर गजुरेलले नेपालमा लामो समयदेखि पेट्रोलमा इथानोल मिसाउने विषय चर्चामा रहे पनि पर्याप्त इथानोल उत्पादनका लागि कच्चा पदार्थको उपलब्धता चुनौतीपूर्ण रहेको बताए।
हाल मुख्यतः चिनी उद्योगबाट निस्कने मोलासेसबाट इथानोल उत्पादन हुने भए पनि नेपालमा चिनीसमेत आयात गर्नुपर्ने अवस्था रहेकाले नेपियर घाँस, पराल, मकैको ढोड र गहुँको छ्वाली जस्ता वैकल्पिक स्रोतको सम्भावना खोज्नुपर्ने उनले बताए।
नेपाल आयल निगमले सुरुमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने तयारी गरेको छ। गजुरेलले भने पुराना सवारीमा यसबाट माइलेज घट्ने र इन्जिनमा समस्या आउन सक्ने भएकाले उपभोक्ताको पक्षबाट पनि नीति अध्ययन गर्नुपर्ने बताए।
आयात घटाउने सरकारको लक्ष्य
सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले इथानोल मिश्रणको मुख्य उद्देश्य पेट्रोलियम पदार्थको आयात घटाउनु रहेको बताए।
उनका अनुसार पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिए पेट्रोलको आयातसमेत करिब १० प्रतिशतसम्म घटाउन सकिन्छ। नेपालमै इथानोल उत्पादन र मिश्रण गर्न सके कृषिमा आधारित नयाँ उद्योग तथा रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने उनको भनाइ छ।
तर, आयातित ब्लेन्डेड इन्धन प्रयोग गर्ने कि नेपालमै पेट्रोल र इथानोल मिसाउने भन्ने विषयमा स्पष्ट लागत विश्लेषण आवश्यक रहेको श्रेष्ठले बताए।
वक्ताहरूले इथानोल मिश्रणबाट प्रदूषण घटाउने र पेट्रोलियम आयातमा निर्भरता कम गर्ने सम्भावना भए पनि सवारी अनुकूलता, पर्याप्त उत्पादन, गुणस्तर नियन्त्रण र उपभोक्तामाथि पर्ने लागतलाई बेवास्ता गरेर नीति कार्यान्वयन गर्न नहुनेमा जोड दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्