काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ठमेलस्थित ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ स्वीकृतिबिना गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइएपछि तत्काल सिलबन्दी गर्न सिफारिस गरेको छ।
काउन्सिलले शुक्रबार जारी गरेको जरुरी सूचनामार्फत सम्बन्धित निकायलाई क्लिनिक सिलबन्दी गर्नुका साथै त्यहाँ रहेका डिजिटल तथा मेडिकल रेकर्ड नियन्त्रणमा लिन सिफारिस गरेको हो।
काउन्सिलका अनुसार क्लिनिकविरुद्ध उजुरी परेपछि छानबिन टोली गठन गरी अनुसन्धान गरिएको थियो। छानबिनका क्रममा चिकित्सकको म्याद सकिएको लाइसेन्स प्रयोग गरी उपचार गरिएको तथा चिकित्सकले आफ्नो तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर उपचार गरेको तथ्य फेला परेको थियो।
थप अनुसन्धानका क्रममा एक चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरेको समेत भेटिएको काउन्सिलले जनाएको छ। सम्बन्धित चिकित्सकहरूमाथि समेत आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ।
यसैगरी, क्लिनिकमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको फार्मेसी तथा त्यहाँ प्रयोग भएका औषधिको स्रोतबारे विस्तृत अनुसन्धान गर्न काउन्सिलले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको जनाएको छ।
काउन्सिलले गैरकानुनी रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा चिकित्सकीय आचारसंहिता र कानुनी व्यवस्थाविपरीत काम गर्ने व्यक्तिमाथि आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्