काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियान आगामी सेप्टेम्बरमा भारतको नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।
इरानी स्रोतका अनुसार भारतले आफ्नो अध्यक्षतामा आयोजना गर्न लागेको १८औँ ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियान सहभागी हुने कार्यक्रम तय भएको हो। सम्मेलन ‘लचिलोपन, नवीनता, सहकार्य र दिगोपनका लागि निर्माण’ भन्ने विषयमा केन्द्रित हुनेछ।
भारतले सन् २०२६ को सुरुआतमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता ग्रहण गरेको हो। पेजेस्कियानले यसअघि सन् २०२४ अक्टोबरमा रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा दुई नेताबीच द्विपक्षीय तथा क्षेत्रीय विषयमा छलफल भएको थियो।
इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको हो। सन् २०२५ मा इन्डोनेसिया पनि सदस्य बनेपछि ब्रिक्सका पूर्ण सदस्य राष्ट्रको संख्या ११ पुगेको छ।
भारतको मध्यस्थताप्रति इरान सकारात्मक
यसअघि जुनमा इरानका विदेशमन्त्री अब्बास अराघची ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत आएका थिए। त्यस क्रममा उनले पश्चिम एसियामा बढ्दो तनाव कम गर्न भारतले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए।
अराघचीले सशस्त्र द्वन्द्वको सैन्य समाधान सम्भव नभएको भन्दै समस्याको समाधान वार्तामार्फत खोजिनुपर्ने धारणा राखेका थिए। उनले इरान भारतको रचनात्मक मध्यस्थताका लागि खुला रहेको समेत बताएका थिए।
भारत भ्रमणका क्रममा अराघचीले विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए। वार्ताका क्रममा पश्चिम एसियाको सुरक्षा अवस्था र क्षेत्रीय स्थायित्वका विषयमा छलफल भएको थियो।
इरानले ब्रिक्सको सदस्यताबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापार, आर्थिक सहकार्य र बहुपक्षीय सम्बन्ध विस्तार हुने अपेक्षा गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्