वासिङ्टन डी.सी. । चीनले अमेरिकाले लगाएको उच्च भन्सार महसुल छल्न ४० भन्दा बढी देशको सहयोग लिएको अमेरिकाले आरोप लगाएको छ।
ह्वाइट हाउसले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार ती देशहरूले कम भन्सार दर भएका मुलुक हुँदै चिनियाँ सामान अमेरिकालगायत अन्य गन्तव्यमा पठाउन सहयोग गरेका हुन्।
रिपोर्टमा ३० अर्बदेखि ३०० अर्ब अमेरिकी डलरसम्मका सामान उच्च भन्सार लाग्ने मुलुकबाट कम भन्सार भएका तेस्रो मुलुक हुँदै सारिएको उल्लेख छ। सामानलाई वास्तविक गन्तव्यमा पठाउनुअघि तेस्रो देशमा लैजाने यस्तो प्रक्रियालाई ‘ट्रान्ससिपिङ’ भनिन्छ।
अमेरिकाले भारत, क्यानडा, मेक्सिको, जापान र दक्षिण कोरिया लगायतका देशले यस्तो व्यापारिक अभ्यासमा चीनलाई सहयोग गरेको आरोप लगाएको छ। यसबाट चीनले अमेरिकालाई तिर्नुपर्ने ठूलो परिमाणको भन्सार महसुल जोगाएको अमेरिकी दाबी छ।
अमेरिकी अर्थतन्त्रमा असर परेको दाबी
ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नाभारोले ट्रान्ससिपिङको यस्तो अभ्यासले अमेरिकी रोजगारी र अर्बौँ डलरको राजस्वमा नकारात्मक असर पारेको बताएका छन्।
उनका अनुसार तेस्रो मुलुकमार्फत चिनियाँ सामान आयात गर्दा अमेरिकी उद्योग तथा श्रम बजार प्रभावित हुनुका साथै सरकारको राजस्वसमेत गुमेको छ।
सी चिनफिङको अमेरिका भ्रमणअघि रिपोर्ट
चीन–अमेरिका व्यापार तनाव जारी रहेका बेला यो रिपोर्ट सार्वजनिक भएको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङको सेप्टेम्बरमा अमेरिका भ्रमण हुने र सो क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुने तयारी छ।
विश्लेषकहरूले भने वार्ताअघि अमेरिकाले आफ्नो ‘बार्गेनिङ पावर’ बढाउन यस्तो रिपोर्ट सार्वजनिक गरेको हुनसक्ने बताएका छन्।
व्यापार तनाव थप बढ्ने संकेत
अमेरिकाले चीनमाथि लामो समयदेखि अनुचित व्यापारिक अभ्यास, बजारमा हस्तक्षेप तथा व्यापारिक असन्तुलनलगायत आरोप लगाउँदै आएको छ।
पछिल्लो रिपोर्टमा चीनले तेस्रो मुलुक प्रयोग गरेर भन्सार छल्ने गरेको आरोप लगाएपछि अमेरिका र चीनबीचको व्यापारिक तनाव थप चर्किन सक्ने संकेत देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्