काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा शनिबार अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरेको छ। टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट सो ग्यास वितरण गरिएको हो।
निगमका अनुसार वितरणको क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ।
आइतबार थप सात स्थानमा ग्यास वितरण
निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछ।
त्यस्तै, बुढानिलकण्ठस्थित पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री हुनेछन्। कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिने भएको छ। नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम, नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ।
ग्यासको आयात नियमित
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जानकारी दिएको छ। बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ। कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्