पश्चिम नवलपरासी । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नदी कटान तीव्र बनेको छ। नदीले बस्तीतर्फ कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दा विस्थापनको त्रासमा परेका छन्।
वर्षौँदेखि सीमाको पहरेदारका रूपमा सुस्तामा बस्दै आएका स्थानीयका लागि अहिले प्राकृतिक विपत्तिसँगै राज्यको उपेक्षा पनि ठूलो पीडाको विषय बनेको छ। सुस्ता संरक्षणका लागि निर्माणाधीन तटबन्ध भारतीय पक्षको अवरोध र नारायणी नदीको बाढीका कारण क्षतिग्रस्त भएपछि जोखिम थप बढेको हो।
नदी नियन्त्रण तथा तटबन्ध संरक्षणका लागि स्थानीयवासीसँगै प्राविधिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निरन्तर परिचालन भएका छन्। उनीहरूले नदीको कटान रोक्न तत्कालीन उपाय अपनाउँदै तटबन्ध जोगाउने प्रयास गरिरहेका छन्।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले सुस्तालाई नारायणीको कटानबाट पूर्ण रूपमा जोगाउन निर्माणाधीन तटबन्धलाई दिगो बनाउनुपर्ने बताए। त्यसका लागि आवश्यक बजेट, प्राविधिक जनशक्ति र स्रोतसाधन तत्काल उपलब्ध गराउँदै राज्यको प्रभावकारी उपस्थिति बढाउनुपर्ने उनको भनाइ छ।
कटान रोक्न स्थानीयवासी अग्रपंक्तिमा
नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार अहिले सुस्ताका सयौँ स्थानीय बासिन्दा नदी कटान नियन्त्रणका लागि खटिएका छन्।
नदीको धार बस्तीतर्फ सोझिन थालेपछि स्थानीयवासी आफैँ जोखिम मोलेर कटान नियन्त्रणमा जुटेका हुन्। उनीहरू सुरक्षा निकाय र प्राविधिक टोलीसँगै तटबन्ध जोगाउने तथा नदीको बहाव रोक्ने प्रयासमा छन्।
पश्चिम नवलपरासीका जनप्रतिनिधिले पनि तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक बजेटको अभाव हुन नदिने र सुस्ताको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
तर पटक–पटक आश्वासन पाउँदै आएका सुस्तावासी अब तत्कालीन राहत र अस्थायी उपायभन्दा दिगो तटबन्ध निर्माणको ग्यारेन्टी चाहन्छन्। उनीहरू वर्षेनी बाढी र कटानको जोखिममा पर्ने अवस्था अन्त्य गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँछन्।
सीमा रक्षाका लागि बसाइएको बस्ती
सुस्ता केवल नदी कटानको जोखिममा रहेको बस्ती मात्र होइन, नेपालको सीमा संरक्षणसँग जोडिएको संवेदनशील क्षेत्र पनि हो।
स्थानीय तह, नारायणी नदी व्यवस्थापन आयोजना तथा सुरक्षा निकायले उपलब्ध स्रोतसाधनअनुसार बचाउ कार्य तीव्र बनाए पनि नारायणीको निरन्तर कटान रोक्न हाल भइरहेका प्रयास मात्र पर्याप्त नदेखिएको स्थानीयको भनाइ छ।
वि.सं. २०२२ मा राजा महेन्द्रको पालामा सीमा रक्षाका लागि बसाइएको सुस्ता बस्तीमा अहिले करिब ३ हजार १३३ जनसंख्या बसोबास गर्दै आएको छ।
वर्षौँदेखि सीमा रक्षामा बस्दै आएका सुस्तावासीका लागि अहिले चुनौती केवल प्राकृतिक विपत्तिसँग जुध्नु मात्र होइन, आफ्नो भूमि र बस्ती जोगाउनु पनि हो। त्यसैले नारायणीको कटान नियन्त्रण र सुस्ता संरक्षणलाई तत्काल राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्