काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेतृत्वकर्ताहरूले नेपालमा लगानी गर्न आफूहरू उत्साहित भए पनि जटिल कानुनी प्रक्रिया, प्रशासनिक ढिलासुस्ती, पूर्वाधारको कमजोरी र लगानी सुरक्षाको चिन्ताले निरुत्साहित बनाइरहेको बताएका छन्।
चीनको ग्वाङ्झाउमा जारी एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलनमा सहभागी गैरआवासीय नेपालीहरूले नेपालमा लगानीको ठूलो सम्भावना रहे पनि त्यसलाई व्यवहारमा परिणत गर्न सरकार र प्रशासनिक संयन्त्रले लगानीमैत्री वातावरण बनाउन नसकेको गुनासो गरेका हुन्।
एसिया प्यासिफिक क्षेत्रसँगै अमेरिका र युरोपबाट सम्मेलनमा सहभागी नेपालीहरूले नेपालमा लगानी तथा व्यवसाय विस्तार गर्ने इच्छा भए पनि कानुनी प्रक्रिया लामो र झन्झटिलो हुनु, निर्णय प्रक्रियामा ढिलाइ हुनु तथा लगानीको सुरक्षाबारे पर्याप्त विश्वासको वातावरण नहुनु मुख्य समस्या रहेको बताएका छन्।
एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरले नेपालमा कामभन्दा छलफल र प्रतिबद्धता बढी हुने प्रवृत्तिले लगानीकर्तालाई निराश बनाउने गरेको बताए। उनका अनुसार लगानीकर्ताका लागि समय अत्यन्त महत्वपूर्ण हुने भए पनि नेपालमा एउटा काम सम्पन्न गर्न लामो समय कुर्नुपर्ने अवस्था छ।
“मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु,” कुँवरले भने, “नेपालमा गफ धेरै, काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ। समयअनुसारको योजना बनाउनुपर्छ, समयमै काम हुनुपर्छ, नत्र त्यो कामले नतिजा दिँदैन।”
उनले लगानीसम्बन्धी कानुनी समस्या तत्काल समाधान गर्न सरकारले सहजीकरण गर्नुपर्ने बताए। नेपालमा ब्याजदरसमेत तुलनात्मक रूपमा महँगो रहेको भन्दै लगानीको लागत घटाउने नीतिमा पुनर्विचार गर्न उनले सरकारलाई सुझाव दिए।
कुँवरको भनाइले विदेशमा लगानीको अनुभव हासिल गरेका नेपालीहरू नेपालमा लगानी गर्दा सामना गर्ने चुनौती केवल कानुनी प्रक्रिया मात्र नभई परियोजना सञ्चालनको गति, वित्तीय लागत र प्रशासनिक निर्णयसँग समेत जोडिएको देखाउँछ।
‘मिठा कुरा गरेर मात्र देश बन्दैन’
एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले विदेशमा रहेका नेपालीहरूमा नेपाललाई समृद्ध बनाउने तीव्र इच्छा रहेको बताए। विदेशमा रहेका नेपालीले ‘मेरो देश कहिले बन्छ?’ भन्ने प्रश्न गरिरहेको भन्दै उनले उनीहरूको पूँजी, सीप र अनुभवलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
“नेपाल नेपालीहरूले नै बनाउने हो,” महतोले भने, “राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बनिसक्थ्यो। हामी मिठा कुरा गर्न सिपालु छौँ। अब नेपालीको सभ्यता बचाएर विकास गर्नुपर्ने छ।”
महतोले गैरआवासीय नेपालीहरूको साझा चाहना समृद्ध नेपाल निर्माण गर्नु रहेको बताए। नेपालमा लगानीको सम्भावना प्रशस्त रहेको दाबी गर्दै उनले लगानीकर्तालाई डर देखाएर वा कानुनको नाममा असहज बनाएर लगानी आकर्षित गर्न नसकिने बताए।
उनका अनुसार सरकारले लगानीकर्तालाई सुरक्षा, पूर्वानुमानयोग्य नीति र सहज प्रशासनिक वातावरणको ग्यारेन्टी दिनुपर्छ।
“उद्यमीहरूलाई धम्काएर वा डराएर होइन, देशको राम्रो वातावरण बनाएर अनि कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ,” महतोले भने।
उनले एनआरएनएमार्फत आउने लगानी केवल गैरआवासीय नेपालीको व्यक्तिगत पूँजीमा सीमित नहुने बताए। विदेशमा व्यवसाय तथा नेटवर्क विस्तार गरेका नेपालीले विदेशी साझेदार र अन्य वैदेशिक लगानीसमेत नेपालमा ल्याउन सक्ने भएकाले उनीहरूलाई लगानीका साझेदारका रूपमा हेर्नुपर्ने उनको धारणा छ।
लगानीसँगै कानुनी ग्यारेन्टीको माग
एनआरएनएका वरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लगानीका सम्भावित क्षेत्र धेरै भए पनि त्यसलाई वास्तविक लगानीमा परिणत गर्न सरकारले वातावरण बनाउनुपर्ने बताए।
कोरियामा रहेका अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले नेपालमा चिकित्सा तथा प्रोटिन क्षेत्रमा नयाँ अनुसन्धान र नवप्रवर्तनका लागि ठूलो सम्भावना रहेको बताए। उनका अनुसार नेपालले आफ्नो प्राकृतिक स्रोत, मानव संसाधन र अनुसन्धान क्षमतालाई जोडेर नयाँ व्यवसाय तथा प्रविधिमा आधारित उद्योग विकास गर्न सक्छ।
एनआरएनए चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईंले भने नेपाल–चीन व्यापार तथा लगानी विस्तारमा पूर्वाधार कमजोर हुनु ठूलो चुनौती रहेको बताए।
उनका अनुसार उत्तरी नाकाबाट नेपालमा सामग्री आपूर्ति गर्ने व्यवसायीले वर्षको सीमित अवधिमा मात्र प्रभावकारी रूपमा व्यापार गर्न पाउने अवस्था छ। पूर्वाधार समयमै निर्माण नहुँदा उद्योगी–व्यवसायीले लामो समयसम्म नाकामा सामान रोक्नुपर्ने र त्यसबाट ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ।
चीनबाट नेपालतर्फको व्यापार विस्तार गर्न सडक, नाका, भन्सार, भण्डारण तथा यातायात पूर्वाधार सुधार आवश्यक रहेको उनले बताए।
एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले भने कुनै पनि लगानीको अन्तिम उद्देश्य प्रतिफल अर्थात् नाफासँग जोडिने भएकाले लगानीकर्तालाई कानुनी रूपमा प्रतिफल र लगानी सुरक्षाको ग्यारेन्टी आवश्यक पर्ने बताए।
उनले चीनमा सरकारको आर्थिक नीति तुलनात्मक रूपमा व्यावहारिक र लगानी सुरक्षाको वातावरण भरपर्दो भएकाले विश्वका विभिन्न मुलुकबाट ठूलो लगानी आकर्षित भएको उदाहरण प्रस्तुत गरे। नेपालले पनि छिमेकी चीनको अनुभवबाट सिक्दै लगानीको सुरक्षा र पूर्वानुमानयोग्य वातावरण निर्माण गर्नुपर्ने उनको सुझाव थियो।
पूँजीभन्दा ठूलो प्रश्न विश्वासको
एनआरएनए नेतृत्वकर्ताहरूको भनाइलाई समग्रमा हेर्दा नेपालमा लगानी अभावको समस्या मात्र नभई लगानीकर्ताको विश्वास निर्माण गर्ने वातावरणको अभाव मुख्य चुनौतीका रूपमा देखिन्छ।
नेपालमा पूँजी, प्राकृतिक स्रोत, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, स्वास्थ्य, कृषि तथा उत्पादन क्षेत्रमा सम्भावना भए पनि लगानीकर्ताले परियोजना सुरु गर्नुअघि नै कानुनी प्रक्रिया, अनुमति, प्रशासनिक निर्णय, पूर्वाधार र भविष्यको नीतिबारे धेरै प्रश्नको सामना गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।
विदेशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीका लागि समय, लागत र कानुनी निश्चितता लगानीको आधारभूत शर्त हुन्। त्यसैले नेपालले एनआरएनएलाई केवल विदेशमा बस्ने नेपालीको संगठनका रूपमा नभई पूँजी, प्रविधि, सीप, बजार र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल भित्र्याउन सक्ने रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने बहस सम्मेलनमा उठेको छ।
सम्मेलनमा उठेका आवाजले सरकारसामु एउटा महत्वपूर्ण प्रश्न पनि खडा गरेको छ—नेपालमा लगानी गर्न इच्छुक नेपालीलाई आकर्षित गर्ने भाषण पर्याप्त छ कि उनीहरूलाई लगानी गर्ने क्रममा व्यवहारमै सहजता र सुरक्षा दिने प्रणाली आवश्यक छ?
एनआरएनए नेतृत्वकर्ताहरूको निष्कर्ष स्पष्ट छ : नेपालमा लगानीको इच्छा घटेको होइन, तर लगानी गर्ने वातावरणप्रतिको विश्वास बलियो बनाउन सरकारको भूमिका निर्णायक छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्