काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका–९ नामजुङले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै डुबान प्रभावितको पुनर्वास, स्थानीय पूर्वाधार पुनर्निर्माण तथा स्वास्थ्य सेवा सुधारका लागि पहल गर्न गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
वडाध्यक्ष रामकुमार श्रेष्ठले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आयोजना निर्माणका क्रममा डुबानमा पर्ने बस्ती तथा पूर्वाधारको उचित व्यवस्थापन र प्रभावित नागरिकको पुनर्वासका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
डुबान क्षेत्रमा पर्ने पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ । निर्माण सम्पन्न भइसकेको भीमसेनश्वर महादेव मन्दिरलाई उचित स्थानमा पुनःस्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, चर्चुला–बुंकोटघाट सडक कालोपत्रे गर्ने कामलाई निरन्तरता दिन तथा स्थानीयको आवागमन सहज बनाउन आवश्यक पहल गर्न माग गरिएको छ ।
नामजुङ स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्नुका साथै दक्ष चिकित्सकसहित आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न पनि वडा कार्यालयले आग्रह गरेको छ ।
वडाध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीयका महत्वपूर्ण समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक कदम चाल्न गृहमन्त्रीसँग अनुरोध गरिएको छ ।
गृहमन्त्रीको प्रतिबद्धता
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री गुरुङले बुढीगण्डकी आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक नीतिगत निर्णय गरी प्रभावित क्षेत्रका नागरिकका माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको रास्वपाका नेता ध्रुव अधिकारीले बताए ।
आयोजना प्रभावितको पुनर्वास, पूर्वाधार पुनर्निर्माणलगायत विषयमा सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोजिने प्रतिबद्धता गृहमन्त्री गुरुङले व्यक्त गरेको अधिकारीले बताए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्