काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा चिनियाँ विद्युतीय कार चेरी क्यू–३ ले नेपाली उपभोक्ताको ध्यान तानेको छ। एसपीजी अटोमोबाइल्सका अनुसार एक्स्पो अवधिमै क्यू–३ को ७०० भन्दा बढी बुकिङ भइसकेको छ।
एसपीजी अटोमोबाइल्सले नाइमा एक्स्पोमार्फत चिनियाँ अटोमोबाइल ब्रान्ड चेरीअन्तर्गतको नयाँ क्यू–क्यू ब्रान्ड नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले क्यू–३ नेपाली बजारमा सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ।
एक्स्पोमा क्यू–३ को कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो। कम्पनीका अनुसार यी एक्स्पो तथा छुटसहितका मूल्य हुन्। यसको नियमित मूल्य कम्फर्ट भेरियन्टको ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको ३५ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ।
क्यू–क्यूलाई चेरी समूहले नयाँ पुस्ताका सहरी विद्युतीय सवारीसाधन लक्षित ब्रान्डका रूपमा अघि बढाएको छ। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको क्यू–३ इलेक्ट्रिक अर्बन क्रसओभर हो।
गाडीमा ४१.२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सहरी आवागमनसँगै मध्यम दूरीको यात्रालाई लक्षित गरेर गाडी विकास गरिएको कम्पनीको भनाइ छ।
क्यू–३ मा ५४० डिग्री क्यामेरा उपलब्ध छ। पार्किङ तथा साँघुरा स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्था बुझ्न यसले सहयोग गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, गाडीमा १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको छ।
गाडीको इन्टेरियरमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ। सुरक्षा तथा चालक सहायता प्रणालीतर्फ पनि कम्पनीले विशेष जोड दिएको छ। क्यू–३ मा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर उपलब्ध रहेको कम्पनीको दाबी छ।
नेपाली बजारमा विद्युतीय सवारीसाधनको माग बढिरहेको समयमा तुलनात्मक रूपमा किफायती मूल्य, लामो रेन्ज र आधुनिक सुरक्षा तथा प्रविधियुक्त फिचरका कारण क्यू–३ ले ग्राहकको ध्यान खिचेको कम्पनीको भनाइ छ।
एक्स्पोमा विभिन्न नयाँ विद्युतीय कार, ई–स्कुटर तथा व्यावसायिक विद्युतीय सवारीसाधन सार्वजनिक भइरहेका बेला क्यू–३ को बुकिङले नेपाली बजारमा सहरी विद्युतीय क्रसओभरप्रतिको बढ्दो आकर्षणलाई समेत संकेत गरेको देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्