काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाको समापनका क्रममा ‘हिन्दु राष्ट्र’ शब्दावलीलाई लिएर नेताहरूबीच विवाद भएको छ ।
समापन कार्यक्रममा घोषणापत्र जारी गर्ने तयारी भइरहेका बेला सनातन हिन्दु राष्ट्र अभियानका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मबारे धारणा राख्न आग्रह गरेका थिए । त्यसपछि घोषणापत्रमा सनातन हिन्दु राष्ट्रसम्बन्धी विषय समेट्ने विषयमा सहमति बनेको बताइएको छ ।
नेता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको पाँचबुँदे प्रस्तावको तेस्रो बुँदामा ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो’ उल्लेख गरिएको थियो । प्रस्तावमा हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको थियो ।
तर, नेता विमलेन्द्र निधिले संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै संविधानको भावनाविपरीत हुने विषयलाई घोषणापत्रमा समावेश नगर्न आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो ।
निधिले प्रस्ताव सच्याउन खोजेपछि महतसहित शंकर भण्डारी, दीपक कुइँकेल र बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले उनलाई सिटमा पुर्याएको बताइएको छ । सो क्रममा महत र निधिबीच भनाभन भएको दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।
भण्डारीले भने– ऐतिहासिक कदम
सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गरिरहेका नेता शंकर भण्डारीले कांग्रेसले सनातन हिन्दु राष्ट्रको प्रस्ताव स्वीकार गर्नु ऐतिहासिक कदम भएको बताएका छन् ।
उनले कांग्रेसले सनातन हिन्दु राष्ट्रको प्रस्ताव स्वीकार गरेको भन्दै नेपाली जनतालाई बधाई दिएका छन् । उनका अनुसार नेपाल सनातनदेखि हिन्दु राष्ट्र रहँदै आएको र त्यसलाई पुनः स्थापित गर्ने दिशामा कांग्रेसले महत्वपूर्ण कदम चालेको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्