काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपा नेपालका महासचिव सुरेन्द्रकुमार झाले पार्टीको निर्णयअनुसार मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई दिइएको समर्थन औपचारिक रूपमा फिर्ता लिइएको जानकारी दिएका छन्।
समर्थन फिर्तासँगै जसपा नेपालले आफ्ना प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।
विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन
महासचिव झाले लुम्बिनी प्रदेशसभामा जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे तथा पार्टीका प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै पार्टीको निर्णयअनुसार मतदान गर्न निर्देशन दिएका हुन्।
पत्रमा भनिएको छ, ‘मा. चेतनारायण आचार्यज्यूले लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा, नेपालका लुम्बिनी प्रदेशसभा सदस्यज्यूहरूलाई पार्टीको निर्णयअनुसार निर्देश गरिन्छ।’
जसपा नेपालको यो निर्णयसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढेको छ।
सरकारको समीकरणमा असर
लुम्बिनी प्रदेशमा सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला जसपा नेपालको समर्थन फिर्ताले सरकारको अंकगणितमा प्रभाव पार्ने देखिएको छ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने अवस्थामा जसपा नेपालका प्रदेशसभा सदस्यहरूले विपक्षमा मतदान गर्ने पार्टीको औपचारिक निर्णयले सरकारको बहुमत परीक्षणलाई थप चुनौतीपूर्ण बनाएको छ।
अब मुख्यमन्त्री आचार्यले प्रदेशसभामा आफ्नो पक्षमा आवश्यक बहुमत जुटाउनुपर्नेछ। सत्ता साझेदार दलहरूबीचको सहकार्य र प्रदेशसभाको अंकगणितले सरकारको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।
जसपा नेपालको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको सम्भावनासमेत बढेको छ। यद्यपि, नयाँ सरकार गठनका लागि कुन दल वा गठबन्धनले बहुमत जुटाउन सक्छ भन्ने विषय भने प्रदेशसभामा हुने राजनीतिक समीकरणमा निर्भर हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्