काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएको तीन दिनमै राजनीतिक रूपमा सक्रिय देखिएका छन्। लामो समय विदेशमा स्वास्थ्य उपचार तथा आराममा रहेका देउवा नेपाल फर्किएपछि विमानस्थलदेखि पार्टीका कार्यक्रममा दिएका अभिव्यक्तिले कांग्रेसभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु भएको छ।
नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकबाट स्वागत ग्रहण गरेका देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेर समर्थकलाई सम्बोधन गरेका थिए। त्यसपछि कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटन तथा समापन समारोहमा समेत उनी सक्रिय रूपमा सहभागी भए।
देउवाका पछिल्ला अभिव्यक्तिमा राजसंस्था, गणतन्त्र र सनातन धर्मको विषय विशेष रूपमा उठेको छ। विगतमा राजसंस्थाप्रति फरक–फरक धारणा राख्दै आएका देउवाले अहिले भने पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थासँग जोडिएका विषयलाई सार्वजनिक बहसमा ल्याएका छन्।
२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट प्रधानमन्त्री नियुक्त हुँदा देउवाले ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भनेका थिए। तर पछि राजाबाटै अपदस्थ भएपछि उनको धारणा बदलिएको थियो। २०६२/६३ को जनआन्दोलनपछि पनि देउवाले राजाबाट धोका हुन सक्ने बताउँदै आएका थिए।
पछिल्लो समय भने राजनीतिक परिस्थिति फेरिएको छ। मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रका गतिविधि र राजसंस्थाको पुनःस्थापनाको माग विभिन्न समूहबाट उठिरहेको छ। यही पृष्ठभूमिमा देउवाले नेपाल फर्किएपछि राजसंस्थासँग जोडिएका विषयमा दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चुनदेवीस्थित कार्यालयमा देउवाले सरकारसँग डराउनुपर्ने अवस्था नरहेको आशय व्यक्त गर्दै अहिलेका शासकहरूले राजाले गर्न नसकेको काम गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठाएका थिए। आफूविरुद्ध भइरहेका सम्भावित छानबिन तथा राजनीतिक दबाबको सन्दर्भमा उनको यस्तो अभिव्यक्ति आएको विश्लेषण गरिएको छ।
त्यसैगरी देउवाले राष्ट्रिय एकता मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। उनको यो अभिव्यक्तिले मुलुकको बदलिँदो राजनीतिक परिवेशमा विभिन्न राजनीतिक धारलाई समेट्ने सम्भावित नयाँ बहसतर्फ संकेत गरेको देखिन्छ।
कांग्रेसको देउवा पक्षको राष्ट्रिय भेलाले पनि सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। समापन समारोहमा देउवाले आफू हिन्दु भएको विषयलाई समेत पटक–पटक उल्लेख गरे। यसले कांग्रेसभित्र लामो समयदेखि बहसमा रहेको हिन्दु राष्ट्रको मुद्दालाई फेरि सतहमा ल्याएको छ।
राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा देउवाले राजा ज्ञानेन्द्रले सरकारको हुकुम माने पनि प्रजातन्त्रको विपक्षमा नजाने बताएको विगतको प्रसङ्ग स्मरण गरे। उनले गणतन्त्र जनताले ल्याएको भए पनि गणतन्त्र स्थापनामा राजाको समेत योगदान रहेको धारणा व्यक्त गरे।
यसअघि कांग्रेसको महासमिति बैठकमा समेत हिन्दु राष्ट्रको पक्षमा उल्लेख्य संख्यामा केन्द्रीय सदस्य तथा महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। यद्यपि पार्टी नेतृत्वले त्यसलाई औपचारिक राजनीतिक एजेण्डाका रूपमा अघि बढाएको थिएन।
देउवाका पछिल्ला अभिव्यक्तिले भने कांग्रेसभित्रको हिन्दुत्वसम्बन्धी बहसलाई नयाँ दिशा दिन सक्ने संकेत गरेको छ। कांग्रेस नेता लोकेश ढकालले देउवाका अभिव्यक्तिलाई ‘कोर्स करेक्सन’को संकेतका रूपमा व्याख्या गर्दै सनातन धर्मसम्बन्धी सम्मेलनको निर्णयलाई हिन्दु राष्ट्रको बहसतर्फको कदमका रूपमा लिएका छन्।
नेपालको राजनीतिमा नयाँ पुस्ताको असन्तुष्टि, परम्परागत दलप्रतिको अविश्वास र राजसंस्था तथा हिन्दु राष्ट्रको माग पुनः उठिरहेको अवस्थामा देउवाको पछिल्लो सक्रियता अर्थपूर्ण बनेको छ।
यद्यपि देउवाले स्पष्ट रूपमा राजसंस्था पुनःस्थापना वा हिन्दु राष्ट्रको पक्षमा औपचारिक राजनीतिक प्रस्ताव अघि सारेका छैनन्। तर गणतन्त्र, राजसंस्था र सनातन धर्मबारे उनले सार्वजनिक रूपमा व्यक्त गरेका धारणाले कांग्रेसको आगामी राजनीतिक दिशाबारे भने नयाँ बहस सुरु गराएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्