काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्।
आइतबार काठमाडौँमा समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन : अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए।
अब नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीका कमजोरी पहिचान गरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको पोखरेलले बताए।
एमाले यथास्थितिमा अघि बढ्न नसक्ने उल्लेख गर्दै उनले पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा राखे। जनताको भावना र अपेक्षा बुझेर पार्टी अघि बढ्न सके वर्तमान राजनीतिक चुनौतीको सामना गर्न सकिने उनको भनाइ थियो।
पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको बताए। नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरे पनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन नहुने उनले स्पष्ट पारे।
विशेषगरी जनमत वामपन्थी शक्तिबाट किन टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनले बताए। विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्दै आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा पोखरेलले जोड दिए।
प्रमुख राजनीतिक दलहरूबीच एकता र सहकार्य कायम रहेको भए पछिल्ला राजनीतिक परिस्थिति यति धेरै भड्किन नसक्ने दाबी गर्दै उनले वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्नुपर्ने बताए।
अब पुरानै शैलीमा राजनीति गर्नेभन्दा नयाँ आधार र नयाँ सोचका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले वामपन्थी आन्दोलनको पुनर्निर्माणका लागि संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्