अस्ट्रेलिया । वरिष्ठ संगीतकार तथा संगीत प्रशिक्षक सुरेश सेन्चुरीलाई अस्ट्रेलियामा सम्मान गरिएको छ। रुपन्देहीमा बागेश्वरी संगीतालय तथा हाल रागश्री संगीतालयमार्फत सयौँ कलाकार उत्पादन गर्दै नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएका सेन्चुरीलाई सिड्नीमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो।
सन् २०१५ मा सिड्नीमा स्थापित रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले आयोजना गरेको तीज विशेष कार्यक्रम ‘तीज धमाका नाइट २०२६’ का अवसरमा सेन्चुरीलाई सम्मान गरिएको हो। अगस्ट १५ मा ग्र्याण्ड प्यालेस, अबर्नमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा चर्चित पप तथा आधुनिक गायक प्रताप दास र लोकदोहोरी गायिका तथा प्रस्तोता मञ्जु पौडेलले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा करिब ३०० भन्दा बढी दर्शक तथा श्रोताको सहभागिता रहेको आयोजकले जनाएको छ। डीजे सुरेनको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत, संगीत शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय सेन्चुरीलाई संस्थाकी अध्यक्ष रञ्जित भण्डारी, एनआरएनए एनएसडब्ल्यु संयोजक उषा किरण बारिया पोख्रेल तथा समाजसेवी विष्णु हमालले संयुक्त रूपमा सम्मान गरेका थिए।
सेन्चुरीको सांगीतिक यात्रा विसं २०४६ बाट जनचेतनामूलक गीत–संगीत तथा सांस्कृतिक कार्यक्रममार्फत सुरु भएको हो। भारतको प्रयाग संगीत समिति, इलाहाबादबाट उनले छ वर्षे ‘संगीत प्रभाकर’ अध्ययन पूरा गरेका छन्। सन् १९९५ मा प्रकट ब्यान्डका संस्थापक सदस्य बनेका उनले १९९६ मा ‘प्रकट एल्बम–१’ मार्फत व्यापक चर्चा पाएका थिए।
सन् १९९९ मा स्थापित बागेश्वरी संगीतालयमार्फत पश्चिम नेपालमा हजारौँ विद्यार्थीलाई संगीत शिक्षा प्रदान गरेका सेन्चुरीले थुप्रै राष्ट्रियस्तरका कलाकार उत्पादन गरेका छन्। उनले ३० भन्दा बढी गीतमा स्वर तथा ५०० भन्दा बढी गीतमा संगीत सिर्जना गरेको बताइएको छ।
उनका चर्चित एल्बममा ‘शुभेच्छा’, ‘सृजना’, ‘बैमानी’, ‘द पल्स’, ‘नानी’ र ‘मेरो हजुर’ लगायत छन्। चलचित्रतर्फ ‘लन्डन नेपाली’, ‘पागल प्रेम’, ‘तिम्रो मायामा’, ‘कैदीको पत्र’ र ‘ढाक्रे दाइ’ लगायतमा उनले संगीत निर्देशन गरेका छन्।
सेन्चुरीले तिलोत्तमा, बुटवल उपमहानगरपालिका, गैडहवा र शुद्धोधन गाउँपालिकाका गान तथा वातावरण संरक्षणसम्बन्धी चेतनामूलक गीतसमेत सिर्जना गरेका छन्। उनले संगीत शिक्षासम्बन्धी पाठ्यक्रम तथा पुस्तक लेखनमा समेत योगदान दिएका छन्।
उनले नेपाल तथा भारतका विभिन्न चर्चित कलाकारसँग सहकार्य गरेका छन्। उनका शिष्य तेरिया फौन्जा मगरले ‘डान्स इन्डिया डान्स लिटल मास्टर’ सिजन ३ को उपाधि जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी थिइन्।
संगीत, शिक्षा र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याएको योगदानका लागि सेन्चुरी यसअघि पनि विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित हुँदै आएका छन्। सिड्नीमा गरिएको सम्मानले उनको दीर्घकालीन सांगीतिक योगदानको उच्च कदर गरेको आयोजकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्