काठमाडौं । विशेष महाधिवेशनलाई अस्वीकार गर्दै छुट्टै राष्ट्रिय भेला गरेका देउवा पक्षीय नेताहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज जवाफ दिने भएका छन्।
सानेपामा गत आइतबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको समापन पनि सोमबार नै हुँदैछ। बैठक समापनका क्रममा सभापति थापाले मिराकल पार्टी भेन्युमा संस्थापन इतर पक्षका नेताहरूले आफूमाथि उठाएका प्रश्न तथा राष्ट्रिय भेलाबाट जारी पाँचबुँदे निर्णयबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।
देउवा पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै छुट्टै राष्ट्रिय भेला आयोजना गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। भेलाबाट पार्टी नेतृत्व, महाधिवेशनको वैधानिकता तथा आगामी राजनीतिक दिशासहितका विषयमा विभिन्न निर्णय सार्वजनिक भएका थिए।
सभापति थापाले आइतबार एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवा पक्षको राष्ट्रिय भेलाबारे सोमबार पार्टी कार्यालयबाटै जवाफ दिने बताएका थिए।
कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि पार्टीको वैधानिकता र नेतृत्वलाई लिएर देउवा पक्षले असहमति जनाउँदै आएको छ। पछिल्लो राष्ट्रिय भेलापछि दुई पक्षबीचको विवाद अझ पेचिलो बनेको अवस्थामा थापाको जवाफलाई चासोका साथ हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्