काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले दुवै जनाले घुस लिएर भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि ढकाल र चौधरीको मिलेमतोमा ७ लाख ५० हजार रुपैयाँ घुस लिइएको थियो। आयोगको टोलीले घुस रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानबाट दुवै जनाले ७ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ।
आयोगले उक्त बिगो बराबर जरिवाना तथा ऐनबमोजिम कैद सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्