काठमाडौं । नेपाली चलचित्र **‘गौँथली’**ले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। साउन १ गतेदेखि आइतबारसम्म चलचित्रले २३ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्र अहिलेसम्म ८ लाख ५५ हजार ७५२ जना दर्शकले हेरेका छन्।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
प्रदर्शनमा आएपछि चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ। चलचित्रको कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतीकरणलाई लिएर दर्शकले प्रतिक्रिया दिइरहेका छन्।
‘हली’ले २१ लाखभन्दा बढी कमायो
यता साउन २२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र **‘हली’**ले आइतबारसम्म २१ लाख ७७ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
चलचित्रका लागि अहिलेसम्म ७ हजार ७१० वटा टिकट बिक्री भएको जनाइएको छ।
ओम प्रतीकको निर्देशनमा बनेको ‘हली’मा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ।
‘कमला मिस’को व्यापार दुई लाख ६१ हजार
साउन २२ गतेदेखि नै प्रदर्शनमा आएको **‘कमला मिस’**ले भने आइतबारसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
नीर शाहको निर्देशनमा बनेको यो चलचित्र साहित्यकार विजय मल्लको चर्चित नाटक **‘कोही किन बर्बाद होस्’**मा आधारित रहेको छ।
‘कमला मिस’ अहिलेसम्म ७१८ जना दर्शकले हेरेका छन्।
यससँगै पछिल्लो समय प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये ‘गौँथली’को व्यापार अन्य दुई चलचित्रको तुलनामा निकै अगाडि देखिएको छ। ‘हली’ र ‘कमला मिस’को भने बक्सअफिस प्रदर्शन तुलनात्मक रूपमा कमजोर देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्