काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले जनता आधारभूत सेवाका लागि संघर्ष गरिरहेका बेला मन्त्रीलाई सामान्य स्वास्थ्य समस्या हुँदा समेत हेलिकोप्टर उपलब्ध हुने गरेको भन्दै सरकारको आलोचना गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गेलालले ग्यास, मल, सञ्चार, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाका लागि जनता समस्यामा रहेको तर मन्त्रीका लागि राज्यको सुविधा सहज उपलब्ध हुने गरेको टिप्पणी गरे।
“आज जनता ग्यास, मल, सञ्चार सेवा, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन् । मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ,” उनले भने, “तर, जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन् ।”
मन्त्रीहरूको प्रचार र भिडियो बनाएर मात्रै जनताको समस्या समाधान नहुने भन्दै उनले मन्त्रालयमै बसेर नीति निर्माण र निर्णय प्रक्रियामा ध्यान दिन आग्रह गरे।
‘देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी?’
सांसद गेलालले मन्त्रीहरूलाई देश भ्रमणभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरे।
“माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ– तपाईंहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ? बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस्,” उनले भने।
देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले उपलब्ध गराउन सक्ने भन्दै उनले मन्त्रीहरू अनावश्यक रूपमा देश दौडाहामा निस्कन आवश्यक नरहेको बताए।
उनले ठूलो संख्यामा सल्लाहकार नियुक्त गरेर राज्यको ढुकुटी खर्च गर्न नहुने धारणा पनि राखे।
मन्त्री लम्साललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको प्रसंग
सांसद गेलालको टिप्पणी पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई स्वास्थ्य समस्या भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको घटनाप्रति लक्षित थियो।
आइतबार भाइरल ज्वरो आएपछि मन्त्री लम्साललाई बैतडीबाट हेलिकोप्टरमार्फत धनगढी ल्याइएको र त्यसपछि थप उपचारका लागि काठमाडौं लगिएको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्