रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएर प्रदेशसभाबाट पारित गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न कठिन हुने भन्दै पूरक बजेट ल्याउन माग गरेका छन्।
प्रदेशसभामा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै श्रेष्ठले पूरक बजेट ल्याउनुपर्ने माग दोहोर्याएका हुन्।
श्रेष्ठले यसअघि पनि चालु आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्दै आएका थिए। उनका अनुसार वर्तमान अवस्थामा पारित बजेट कार्यान्वयन गर्न सकिने अवस्था नरहेकाले सरकारले वैकल्पिक वित्तीय योजना ल्याउन आवश्यक छ।
“अहिलेको अवस्थामा यो बजेट कार्यान्वयनमा आउने अवस्था छैन। पूरक बजेट ल्याउन मेरो माग यथावत छ,” श्रेष्ठले प्रदेशसभामा भने।
उनले मुख्यमन्त्री आचार्यले आगामी दिनमा प्रदेश सरकार सञ्चालनका क्रममा सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए।
“अब मुख्यमन्त्रीले अन्य काम समन्वयका आधारमा गर्नुपर्ने छ,” उनले भने।
मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह
बजेटमा असहमति जनाए पनि श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरूलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री आचार्यले सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए। त्यस क्रममा एमाले संसदीय दलका उपनेता श्रेष्ठले मुख्यमन्त्रीको पक्षमा धारणा राख्दै उनलाई विश्वासको मत दिनुपर्ने बताएका हुन्।
यसैबीच एमाले लुम्बिनी प्रदेश संसदीय दलले मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।
बजेट कार्यान्वयनप्रति आफ्नै दलका उपनेताले प्रश्न उठाउँदै पूरक बजेटको माग गरेपछि लुम्बिनी प्रदेश सरकारका आगामी आर्थिक तथा नीतिगत निर्णयमाथि भने थप बहस हुने देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्