काठमाडौँ । नाडा अटो शो–२०२६ यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा अटो शो हुन लागेको हो।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शो १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गरिने आयोजकले जनाएको छ।
६ दिनसम्म चल्ने प्रदर्शनीमा नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा भइरहेका नयाँ प्रविधि, उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्। आयोजकका अनुसार अटोमोबाइल कम्पनीले आफ्ना नयाँ सवारी साधन तथा प्रविधि सार्वजनिक गर्नुका साथै ग्राहक र व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर पाउनेछन्।
२०० भन्दा बढी स्टल
अटो शोमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ ब्रान्डका पेसेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन प्रदर्शन गरिनेछन्।
त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र ७० वटा अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवाका स्टल रहनेछन्।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारी साधन, ब्याट्री, टायर, लुब्रिकेन्ट, हेलमेट तथा स्पेयर पार्ट्ससमेत राखिने आयोजकले जनाएको छ।
स्वदेशी उत्पादनमा जोड
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यसपटकको प्रदर्शनीमा नेपालमै एसेम्बल भएका विभिन्न ब्रान्डका स्कुटर, मोटरसाइकल तथा अन्य सवारी साधन प्रदर्शन गरिने बताए।
नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स, हेलमेट तथा अटो कम्पोनेन्टसमेत प्रदर्शनीमा सहभागी हुने उनले जानकारी दिए।
नेपाल अटोमोबाइल क्षेत्रमा आयातमा मात्र निर्भर नभई क्रमशः आत्मनिर्भरतर्फ अघि बढिरहेको सन्देश दिन खोजिएको उप्रेतीको भनाइ छ। नेपालमै अटोमोबाइल उत्पादन सम्भव रहेको विषयलाई समेत प्रदर्शनीमार्फत देखाउन खोजिएको उनले बताए।
विद्युतीय सवारीमा आकर्षण
यस वर्षको अटो शोमा विद्युतीय सवारी साधन, नयाँ प्रविधि, दिगो गतिशीलता र विश्वस्तरीय उत्पादन मुख्य आकर्षण हुने आयोजकको भनाइ छ।
अटो शोले सुस्त बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, उपभोक्तामा उत्साह बढाउन र समग्र अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नाडा अटो शोको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ। आयोजकका अनुसार ६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्