काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ।
आज कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवसहित कार्यदल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका संयोजकलाई बोलाइएको छ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र ऊर्जा उत्पादकहरूले भोग्दै आएका समस्याबारे छलफल हुने कार्यसूची छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनलगायत विषयमा छलफल हुनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल हुनेछ।
उक्त छलफलका लागि डा. पासाङ शेर्पा, डा. प्रतिमा गुरुङ र शैलेन्द्रप्रसाद हरिजनलाई बोलाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्