काठमाडौं । पिँढीको एक छेउमा बसेर झलकमान गन्धर्व सारङ्गी रेट्दै गाउँथे—‘आमाले सोध्लिन् नि, खै छोरा भन्लिन्…।’ घरमुलीको आँखा दैलोमाथि झुन्डिएको तस्बिरमा अडिन्थ्यो। धागोले बाँधिएको चिठी हातमा आइपुग्दा भर्खरै घरमुली बनेकी महिला सप्कोले आँसु पुछ्थिन्, लालाबाला सुँक्कसुँक्क गर्न थाल्थे।
‘सिसै काट्यो गोलीले, रनमा परी मरिछन् लाहुरे…’ सम्म गीत पुग्दा गाउँ नै स्तब्ध हुन्थ्यो।
यो त्यही समयको कथा हो, जब नेपालका गाउँगाउँबाट युवाहरू ‘बहादुर’ बन्न लाहुर पस्ने गर्थे। आजजस्तो हातहातमा मोबाइल र क्षणभरमै भिडियो कल हुने सुविधा थिएन। पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती तथा भारतीय सेनामा भर्ती भएर युद्धभूमिमा पुगेका नेपाली कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने कुरा घरपरिवारले महिनौँसम्म थाहा पाउँदैनथे।
उपलब्ध विभिन्न आँकडाअनुसार पहिलो र दोस्रो विश्वयुद्धमा करिब २ लाख ५० हजार गोर्खा सैनिक प्रत्यक्ष रूपमा सहभागी भएका थिए। तीमध्ये करिब ६० हजार युद्धबाट कहिल्यै घर फर्केनन्। उनीहरूका आफन्तले आफ्ना प्रियजनको सास त के, लाससमेत देख्न पाएनन्। प्रत्यक्ष युद्धमा संलग्नबाहेक ठूलो संख्यामा गोर्खाली अन्य सहयोगी भूमिकामा समेत युद्धमा परिचालित थिए।
त्यो समय लाहुरे परिवारका लागि युद्धको खबर आफैंमा त्रासदी थियो। खबर आउँथ्यो, तर मान्छे आउँदैनथ्यो। धेरै परिवारका लागि अन्तिम सम्झना नै एउटा चिठी हुन्थ्यो।
युद्धको चिठीमा बाँधिएको रातो धागो
लाहुरेको जीवनलाई नजिकबाट नियालेका तथा त्यसैको अनुभूति समेटेर ‘लाहुरे फूल’ कविता लेखेका कवि तीर्थ श्रेष्ठका अनुसार युद्धमा मारिएका सैनिकको शव गाउँसम्म आउने सम्भावना अत्यन्त न्यून हुन्थ्यो। बरु उनीहरूको मृत्युको खबर बोकेको चिठी हल्कारामार्फत गाउँ पुग्थ्यो।
‘युद्धमा मारिएकाहरूको लास आउला भन्ने कल्पनै हुँदैनथ्यो, बरु उनीहरू मारिएको खबर लेखिएको चिठी हल्काराले गाउँमा ल्याउँथे। मरणको चिठीमा रातो धागो बाँधिएको हुन्थ्यो रे,’ श्रेष्ठको भनाइ छ।
यस्ता चिठी ब्रिटिस इन्डियाका सैन्य अधिकारी तथा गोर्खाली संलग्न रेजिमेन्टमार्फत पठाइन्थे। युद्धमा रहेका सैनिकले घर पठाउने चिठी भने स्वतन्त्र रूपमा पठाउन पाउँदैनथे। ती चिठीमाथि सैन्य सेन्सरको निगरानी हुन्थ्यो।
इतिहासविद् डा. प्रत्युष वन्तका अनुसार पहिलो विश्वयुद्धका क्रममा गोर्खाली सैनिक युरोप, मध्यपूर्व र अफ्रिकासम्म पुगेका थिए। फ्रान्स र बेलायतमा रहेका उपमहादेशीय सैनिकले पठाउने तथा उनीहरूलाई पठाइने चिठीपत्रको निगरानीका लागि फ्रान्सको बोलोनमा युद्धकालीन सेन्सर कार्यालय स्थापना गरिएको थियो।
युद्धको अवस्था, सैनिकको स्थान वा सैन्य रणनीतिजस्ता संवेदनशील सूचना बाहिर जान नदिन चिठी जाँच गरिन्थ्यो। सेन्सर कार्यालयका अधिकारीहरूले समय–समयमा तयार पार्ने प्रतिवेदनमा उनीहरूले पढेका चिठीका अंशसमेत समावेश हुने गरेको वन्तले उल्लेख गरेका छन्।
अर्थात्, लाहुरेको चिठी केवल परिवारसँगको भावनात्मक सम्बन्धको माध्यम थिएन। त्यो युद्धको नियन्त्रण र सैन्य सूचनामाथिको निगरानीको एउटा हिस्सा पनि थियो।
चिठीबाट मोबाइलसम्म
समय बदलियो। प्रविधि बदलियो। तर नेपालबाट विदेशिने युवाको कथा भने हराएन।
आज पनि बेलायती तथा भारतीय सेनामा हजारौँ नेपाली कार्यरत छन्। तर विदेशमा रहेका आफन्तको सञ्चो–बिसञ्चो थाहा पाउन अब हल्कारा आउने बाटो कुर्नुपर्दैन। धागोले बाँधिएको चिठीको ठाउँ मोबाइल फोनले लिएको छ। एउटा भिडियो कलले हजारौँ किलोमिटर टाढाको मानिसलाई घरको आँगनमा ल्याइदिन्छ।
तर लाहुरे संस्कृति समाप्त भएको छैन। यसको स्वरूप मात्र बदलिएको छ।
हिजो छातीमा तक्मा भिरेर बेलायती वा भारतीय सेनामा ‘बहादुर’ बन्न जाने नेपाली युवा आज पासपोर्ट बोकेर संसारका विभिन्न कुनामा पुगेका छन्। कोही युद्धभूमिमा होइन, मरुभूमिको चर्को घाममा पसिना बगाइरहेका छन्। कोही निर्माणस्थलमा काम गरिरहेका छन्, कोही रेस्टुरेन्टमा, कोही कारखानामा त कोही अस्पताल र विश्वविद्यालयमा आफ्नो भविष्य खोजिरहेका छन्।
हिजोको लाहुरे सैन्य सेवासँग जोडिएको थियो। आजको लाहुरे श्रम, शिक्षा र विश्वव्यापी अवसरको खोजीसँग जोडिएको छ।
श्रम स्वीकृतिदेखि संसारभरको यात्रासम्म
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८३ अनुसार श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख २३ हजार ४४३ नाघिसकेको छ। यसमध्ये महिलाको हिस्सा ७.१ प्रतिशत रहेको उल्लेख छ।
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख २५ हजार ५१३ पुगेको थियो। त्यसमा महिलाको हिस्सा १२.१ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ।
सरकारले १११ देशका लागि श्रम स्वीकृति खुला गरेको छ। खाडी मुलुक मात्र होइन, रोमानिया, सर्विया, माल्टा, पोर्चुगललगायत नेपालीका लागि पहिले अपरिचितजस्ता लाग्ने मुलुकसमेत रोजगारीको गन्तव्य बनेका छन्।
तर विदेश जाने सबै नेपालीको यात्रा सुखद छैन।
परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाउने नेपालीको संख्या पनि उल्लेख्य छ। विभिन्न कारणले विदेशमा ज्यान गुमाएका १ हजार ८६ नेपालीको तथ्यांक सार्वजनिक भएको छ। अवैध बाटो हुँदै अमेरिका वा अन्य मुलुक जाने क्रममा बेपत्ता हुने वा बाटोमै ज्यान गुमाउनेको संख्या यसमा समावेश नहुन सक्छ।
यसले वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको आधार बने पनि यसको मानवीय मूल्य कति ठूलो छ भन्ने देखाउँछ।
रोजगारी मात्र होइन, शिक्षाका लागि पनि विदेश
नेपालीको विदेश यात्रा रोजगारीमा मात्र सीमित छैन। पछिल्लो दशकमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या पनि तीव्र रूपमा बढेको छ।
अध्यागमन विभागका अनुसार सन् २०२० देखि २०२६ को मध्यसम्म ५ लाख ६२ हजार ९०४ नेपाली विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर विदेश अध्ययनको बाटो रोजेका छन्।
शिक्षा मन्त्रालयका अनुसार नेपाली विद्यार्थी विश्वका विभिन्न ७३ देशका विश्वविद्यालयमा अध्ययनका लागि जाने गरेका छन्।
जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिका र भारतजस्ता परम्परागत गन्तव्यसँगै बंगलादेश, स्वीडेन, इस्टोनिया, दक्षिण कोरिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड्स, लक्जमबर्ग, इटाली, ओमान, आयरल्यान्ड, स्लोभेनिया, कतार, पाकिस्तान तथा दक्षिण अफ्रिकासम्म नेपाली विद्यार्थी पुगेका छन्।
पछिल्लो समय माल्टा, किर्गिस्तान, आर्मेनिया, क्रोएसिया, इन्डोनेसिया, बोस्निया–हर्जेगोभिनालगायत तुलनात्मक रूपमा कम परिचित गन्तव्यका लागि समेत आवेदन बढेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्।
तर ‘विद्यार्थी’ बनेर विदेश जाने सबैको उद्देश्य अध्ययन मात्र हो कि भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार धेरै विद्यार्थीको वास्तविक चाहना देश छाडेर विदेशमै रोजगारी खोज्नु हुने गरेको देखिन्छ।
यसरी हेर्दा विदेशिने नेपालीको संस्कृति रोजगारी, शिक्षा र स्थायी बसोबासको चाहनासँग जोडिँदै गएको छ।
विदेशिएका नेपाली : अर्थतन्त्रको अदृश्य मेरुदण्ड
विदेशमा रहेका नेपालीको वास्तविक संख्या यकिन गर्न कठिन छ। आधिकारिक तथ्यांक अपूर्ण भए पनि विश्वभर छरिएका नेपालीको संख्या करिब एक करोडको हाराहारीमा पुगेको अनुमान गरिन्छ।
यीमध्ये धेरैले कठिन श्रम गरेर कमाएको पैसा नेपाल पठाइरहेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठसम्म नेपालमा २०३ अर्ब ८९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।
रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। घरपरिवारको शिक्षा, स्वास्थ्य, आवास, उपभोगदेखि देशको विदेशी मुद्रा सञ्चितिसम्म यसको प्रभाव छ।
अर्थशास्त्री प्राडा यादव शर्मा गौडेलका अनुसार विदेशिएका नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई ठूलो आधार दिएको छ।
‘विदेशिएका नेपालीले पठाउने रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको छ,’ उनी भन्छन्, ‘तर विदेशमा कठिन श्रम गर्ने उनीहरूको चाहना देशमै केही गर्ने वातावरण होस् भन्ने छ। पर्याप्त रोजगारी सिर्जना गर्न राज्य चुकेको छ।’
अर्थात्, विदेशिनु धेरै नेपालीका लागि रहरभन्दा बढी बाध्यता बनेको छ।
विदेशमा बसेका नेपालीको राजनीतिक प्रभाव
विदेशमा रहेका नेपालीको प्रभाव अर्थतन्त्रमा मात्र सीमित छैन। उनीहरू नेपालको सामाजिक तथा राजनीतिक जीवनमा समेत प्रभावशाली शक्ति बन्दै गएका छन्।
समाजशास्त्री डा. विश्वकल्याण पराजुली विदेशमा रहेका नेपालीलाई ‘सत्ता हल्लाउन सक्ने शक्ति’का रूपमा व्याख्या गर्छन्।
उनका अनुसार पछिल्ला निर्वाचनमा विदेशमा रहेका नेपालीको राजनीतिक प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देखिएको छ। नयाँ राजनीतिक शक्तिको उदयमा विदेशमा रहेका नेपालीको आर्थिक, नैतिक र सामाजिक समर्थन महत्वपूर्ण रहेको उनको दाबी छ।
‘घरकी जवान जहानको कुरा छाडौँ, विदेशमा छोराछोरी हुने बुढाबुढीको हातमा स्मार्टफोन नहुने कुरै भएन,’ पराजुली भन्छन्, ‘छोराछोरीले भिडियो कलबाटै आमाबुबालाई मनाए। पहिला जस्तो चिठी लेख्ने जमाना रहेन। हातमा भएको फोनबाटै हुने भिडियो कल राजनीतिक प्रभाव पार्न पर्याप्त भयो।’
उनका अनुसार विदेशमा रहेका नेपालीले नेपालका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्ने गरेका छन्। लामो राजनीतिक अस्थिरता, स्वदेशमा अवसरको अभाव र नयाँ राजनीतिक शक्तिप्रतिको आशाले उनीहरूलाई नेपालको राजनीतिमा सक्रिय चासो राख्न प्रेरित गरेको छ।
यसले विदेशिएको नेपालीलाई केवल रेमिट्यान्स पठाउने श्रमिकको रूपमा मात्र हेर्न नमिल्ने देखाउँछ।
लाहुरेको कथा फेरिएको छ, सम्बन्धको डोरी उस्तै छ
एक शताब्दीअघि गाउँमा एउटा चिठी पुग्दा परिवारको भाग्य बदलिन्थ्यो। चिठीमा लेखिएको एउटा वाक्यले कसैलाई विधवा बनाउँथ्यो, कसैलाई टुहुरो र कसैलाई जीवनभर प्रतीक्षामा राख्थ्यो।
आज त्यही खबर मोबाइलको स्क्रिनमा आउँछ।
हिजो हल्काराले रातो धागोले बाँधिएको चिठी बोकेर गाउँ पस्दा गाउँ चकमन्न हुन्थ्यो। आज विदेशबाट आएको भिडियो कलमा छोरा–छोरीको अनुहार देख्दा आमाबुबाको आँखामा आँसु आउँछ। माध्यम बदलिएको छ, भावनाको गहिराइ उस्तै छ।
हिजोका लाहुरे युद्धमा जान्थे। आजका लाहुरे रोजगारी र शिक्षाका लागि संसारभर पुग्छन्। हिजो युद्धमा गोली लागेर मर्ने लाहुरेको खबर चिठीमा आउँथ्यो। आज पनि वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युको खबर बाकस वा फोनमार्फत घर पुग्छ।
तर एउटा ठूलो परिवर्तन भएको छ—आज विदेशिएको नेपाली केवल घरबाट टाढा छैन, ऊ प्रविधिमार्फत घरसँग जोडिएको छ। उसले पैसा पठाउँछ, परिवारसँग कुरा गर्छ, गाउँको चुनावमा चासो राख्छ, राजनीतिक बहस गर्छ र आवश्यक परे आफ्नो मतसमेत प्रभाव पार्छ।
त्यसैले आजको नेपाली विदेशिने संस्कृतिलाई केवल ‘लाहुरे जाने चलन’का रूपमा बुझेर पुग्दैन। यो नेपालको अर्थतन्त्र, समाज, राजनीति र पारिवारिक संरचनालाई नै प्रभावित गर्ने ठूलो सामाजिक शक्ति बनिसकेको छ।
झलकमान गन्धर्वको सारङ्गीमा गुञ्जिने ‘आमाले सोध्लिन् नि…’ आज पनि सान्दर्भिक छ। फरक यति हो—त्यतिबेला आमाले छोराको खबर पाउन हल्काराको बाटो हेर्नुपर्थ्यो, आज मोबाइलको स्क्रिन हेर्छिन्।
लाहुरे बदलिए, बाटो बदलिए, संसार बदलिए—तर घर फर्किने चाहना र घरमा पर्खिरहने आमाको मन भने उस्तै छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्