काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालले विद्युत् निर्यातबाट उल्लेख्य आम्दानी गर्न थाले पनि त्यसलाई मात्रै नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नसकिने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको विद्युत् उत्पादन प्रणाली अझै पनि मौसमी प्रकृतिको रहेको र सुक्खायाममा उत्पादन घट्दा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था कायमै रहेको बताए।
उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो। तर सोही अवधिमा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँको विद्युत् आयात समेत गरेको उनले जानकारी दिए।
‘आर्थिक वर्ष ८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही हो। तर विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन,’ मन्त्री श्रेष्ठले भने।
वर्षायाममा बढी उत्पादन, सुक्खायाममा आयात
नेपालको जलविद्युत् उत्पादन मुख्यतः नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्ने मन्त्री श्रेष्ठले बताए।
तर आन्तरिक विद्युत् खपतका लागि आवश्यक पूर्वाधार पर्याप्त विकास हुन नसक्दा वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर जान नदिन भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
अर्कोतर्फ हिउँद तथा सुक्खायाममा नदीको बहाव घटेसँगै जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए।
यसकारण विद्युत् निर्यात र आयातलाई विरोधाभासका रूपमा मात्र बुझ्न नहुने उनको भनाइ छ।
‘विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एकअर्काको विरोधाभासका रूपमा नभई उत्पादन, प्रसारण र वितरण प्रणालीका छुट्टाछुट्टै चुनौतीका रूपमा बुझ्न आवश्यक छ,’ उनले भने।
उत्पादनसँगै प्रसारण र वितरण पनि चुनौती
मन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रको मुख्य चुनौती विद्युत् उत्पादनमा मात्र सीमित नरहेको बताए।
उनका अनुसार प्रसारण तथा वितरण पूर्वाधारको क्षमता, गुणस्तर र विश्वसनीयता पनि अहिलेका प्रमुख चुनौती हुन्।
विशेषगरी औद्योगिक करिडोरमा प्रसारण तथा वितरण पूर्वाधार कमजोर हुँदा भोल्टेजमा उतारचढाव र विद्युत् गुणस्तरसम्बन्धी समस्या आउने गरेको उनले बताए।
औद्योगिक क्षेत्रबाट विद्युत्को गुणस्तर र आपूर्तिको विश्वसनीयताबारे गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारलाई समग्र रूपमा सुदृढ बनाउनुपर्नेमा जोड दिए।
जलाशययुक्त आयोजना र प्रसारण सञ्जालमा जोड
नेपालमा विद्युत् उत्पादनको मौसमी निर्भरता घटाउन जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिनुपर्ने मन्त्री श्रेष्ठले बताए।
त्यस्तै, उत्पादन भएको विद्युत् देशका विभिन्न क्षेत्रमा पुर्याउन प्रसारण सञ्जाल विस्तार तथा वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढाउनुपर्ने उनको भनाइ छ।
‘जलाशययुक्त योजना निर्माण, प्रसारण सञ्जालको विस्तार तथा वितरण प्रणालीको सुदृढीकरण नहुँदासम्म यी चुनौती पूर्ण रूपमा समाधान गर्न कठिन हुन्छ,’ उनले भने।
आन्तरिक खपत बढाउने सरकारको प्राथमिकता
मन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन लक्ष्य विद्युत् उत्पादन बढाएर निर्यात गर्ने मात्र नभई स्वदेशमै विद्युत्को खपत व्यापक रूपमा बढाउनु पनि रहेको बताए।
विद्युतीय सवारीसाधन, विद्युतीय खाना पकाउने प्रविधि, उद्योग तथा अन्य क्षेत्रमा विद्युत्को प्रयोग बढाउँदै आन्तरिक माग विस्तार गर्नुपर्ने उनको भनाइ छ।
सरकारले विद्युत् उत्पादन, प्रसारण, वितरण, आन्तरिक खपत र माग व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने नीति लिएको उनले बताए।
‘विद्युत् उत्पादन वृद्धि मात्र होइन, भरपर्दो प्रसारण, गुणस्तरीय वितरण, बढ्दो आन्तरिक खपत र प्रभावकारी विद्युत् माग व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाएर स्वदेशी उपभोक्तालाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने सरकारको स्पष्ट प्राथमिकता रहेको छ,’ मन्त्री श्रेष्ठले भने।
उनका अनुसार नेपालको ऊर्जा क्षेत्रको वास्तविक सफलता विद्युत् निर्यातको रकमबाट मात्र नभई स्वदेशी उद्योग, व्यवसाय र घरपरिवारले वर्षभरि गुणस्तरीय तथा भरपर्दो विद्युत् पाउने अवस्था निर्माण भए–नभएको आधारमा पनि मूल्यांकन गर्नुपर्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्