काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको टोली र सरकारी पक्षबीच आज सिंहदरबारमा वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच छलफल भइरहेको हो।
सरकारले सोमबार वार्ता टोली गठन गरेपछि प्रसाईंले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका थिए। त्यसपछि आज दुवै पक्षबीच औपचारिक रूपमा वार्ता सुरु भएको हो।
सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेको टोली गठन गरिएको छ।
प्रसाईंका तर्फबाट विष्णु बोहराको संयोजकत्वमा विजय थापा, देवी संग्रौला, हरदेव महतो, लीलादेवी दनुवार, लाल शाह, रिकु मण्डल, राजु आचार्य र नरेन्द्र लामासहित नौ सदस्यीय टोली वार्तामा सहभागी छ।
दुवै पक्षबीच केही समयदेखि देखिएको तनाव र विवाद समाधानका लागि वार्ता सुरु भएको बताइएको छ। यद्यपि वार्तामा उठाइएका विषय तथा दुवै पक्षका मागबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
सरकार र प्रसाईं पक्षबीचको वार्तालाई जारी विवाद समाधानका लागि संवादको प्रयासका रूपमा हेरिएको छ। वार्ताबाट सहमति जुट्ने वा नजुट्ने विषय भने छलफलको निष्कर्षपछि मात्र स्पष्ट हुने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्