काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रा. डा. पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। चिकित्सा शिक्षासँगै स्वास्थ्य सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका पौडेलले यसअघि विभिन्न सरकारी तथा शिक्षण अस्पतालमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा चिकित्सक तथा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए। ती संस्थामा काम गर्ने क्रममा उनले उपचार सेवासँगै व्यवस्थापकीय तथा शैक्षिक क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्।
मेडिकल काउन्सिलमै प्रशासनिक अनुभव
डा. पौडेल नेपाल मेडिकल काउन्सिलको कामकारबाहीसँग पनि परिचित छन्। यसअघि उनले काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।
काउन्सिलको परीक्षा, चिकित्सकीय आचारसंहिता तथा नियमनसम्बन्धी काममा प्रत्यक्ष संलग्न भइसकेका कारण उनको नियुक्तिलाई काउन्सिलको नियामकीय भूमिकाका लागि अनुभवयुक्त नेतृत्वका रूपमा हेरिएको छ।
चिकित्सा शिक्षा र नियमनमा चुनौती
नेपाल मेडिकल काउन्सिल चिकित्सक दर्ता, चिकित्सा शिक्षाको गुणस्तर, चिकित्सकीय आचारसंहिता तथा पेशागत अभ्यासको नियमन गर्ने प्रमुख निकाय हो। पछिल्लो समय चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने, चिकित्सकको व्यावसायिक आचरणलाई प्रभावकारी रूपमा नियमन गर्ने तथा स्वास्थ्य सेवामा जनविश्वास अभिवृद्धि गर्ने विषय काउन्सिलका प्रमुख चुनौतीका रूपमा रहेका छन्।
नवनियुक्त अध्यक्ष पौडेलको लामो चिकित्सकीय तथा काउन्सिलको कार्यअनुभवले ती विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्