काठमाडौँ । टाटा मोटर्सले आफ्नो प्रिमियम विद्युतीय एसयूभी ‘सिएरा ईभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो।
टाटा मोटर्सले गत जुनमा भारतमा सिएराको विद्युतीय संस्करण सार्वजनिक गरेको थियो। आधुनिक प्रविधि, आकर्षक डिजाइन, लामो ड्राइभिङ रेन्ज र प्रिमियम इन्टेरियरलाई प्राथमिकता दिइएको सिएरा ईभीलाई विद्युतीय एसयूभीको प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धाका लागि तयार गरिएको कम्पनीले जनाएको छ।
नेपालमा सिएरा ईभीले मध्यमदेखि प्रिमियम वर्गका विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। सिएराको विद्युतीय कन्सेप्ट पहिलोपटक सन् २०२० को अटो एक्स्पोमा प्रदर्शन गरिएको थियो भने सन् २०२३ को अटो एक्स्पोमा यसको परिमार्जित कन्सेप्ट सार्वजनिक गरिएको थियो।
तीन भेरियन्ट, ६६५ किलोमिटरसम्म रेन्ज
नेपालमा सिएरा ईभी प्योर, एडभेन्चर र इम्पावर्ड गरी तीन भेरियन्टमा उपलब्ध हुने बताइएको छ। यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प छन्।
कम्पनीका अनुसार ६३ किलोवाट आवर ब्याट्री भएको संस्करणले एकपटक चार्जमा ५३५ किलोमिटरसम्म र ७५ किलोवाट आवरको ब्याट्री भएको संस्करणले ६६५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।
सिएरा ईभी रियर ह्वील ड्राइभ (आरडब्लूडी) तथा अल ह्वील ड्राइभ (एडब्लूडी) दुवै विकल्पमा उपलब्ध छ। यसले सहरी आवागमनसँगै लामो दूरी र कठिन भूभागमा समेत प्रयोग गर्न सकिने विकल्प प्रदान गर्ने कम्पनीको दाबी छ।
गाडीको लम्बाइ ४३४० मिलिमिटर, चौडाइ १८४१ मिलिमिटर र उचाइ १७५० मिलिमिटर छ। यसको ह्विलबेस २७३० मिलिमिटर, ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर र बुट स्पेस ६२२ लिटर रहेको छ।
ट्रिपल स्क्रिनदेखि हेडअप डिस्प्लेसम्म
सिएरा ईभीको केबिनलाई आधुनिक र प्रविधिमैत्री बनाउन विभिन्न प्रिमियम फिचर समावेश गरिएको छ। यसमा होराइजन भ्यू ट्रिपल स्क्रिन सेटअप, मल्टिकलर गाइडसहितको हाइपर हेडअप डिस्प्ले तथा ४–वे पावर को–ड्राइभर सिट उपलब्ध छन्।
त्यसैगरी भेन्टिलेटेड सिट, आयनाइजरसहितको क्याबिन स्टेरिलाइजेसन सिस्टमलगायत सुविधा पनि दिइएको छ। यी फिचरले यात्राका क्रममा आराम र सुविधा बढाउने कम्पनीको दाबी छ।
लेभल–२ प्लस एडीएएस र ५४० डिग्री क्यामेरा
सुरक्षातर्फ सिएरा ईभीमा लेभल–२ प्लस एडीएएसअन्तर्गत २३ वटा फिचर समावेश गरिएको छ। यी प्रविधिले अगाडिको सडक तथा सम्भावित जोखिम पहिचान गरी चालकलाई आवश्यक समयमा सहयोग गर्ने कम्पनीले जनाएको छ।
गाडीमा १५ वटा फिचरसहितको अटो पार्क असिस्ट र ५४० डिग्री क्यामेरा पनि उपलब्ध छन्। ३६० डिग्री सराउन्ड भ्यु सिस्टम, पारदर्शी मोडसहितको ५४० डिग्री भ्यु तथा अगाडि–पछाडिको टर्न क्यामेराले पार्किङ र साँघुरो स्थानमा गाडी चलाउन थप सहज बनाउने अपेक्षा गरिएको छ।
सिएरा ईभीमा १९ इन्च एलोय ह्विलसमेत उपलब्ध छ।
पुरानो सिएराको झल्को, नयाँ विद्युतीय पहिचान
टाटा मोटर्सले सिएरा ईभीलाई ‘गो एनीवेयर, डु एनीथिङ’ अवधारणामा विकास गरेको जनाएको छ। यसको डिजाइनमा पुरानो सिएराको बक्सी र मस्कुलर स्वरूपको झल्को दिँदै त्यसलाई आधुनिक विद्युतीय एसयूभी डिजाइनसँग जोडिएको छ।
लामो रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स, आरडब्लूडी र एडब्लूडी विकल्प तथा आधुनिक डिजिटल प्रविधिको संयोजनमार्फत सिएरा ईभीलाई सहरी दैनिक प्रयोगदेखि लामो दूरीको यात्रा र कठिन सडकसम्मका लागि लक्षित गरिएको छ।
नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा सिएरा ईभीको प्रवेशले प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्