मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित वासुदेव खोलाले गत मंगलबार बगाएकी ११ वर्षीया सुमित्रा भोलनको शव तीन दिनपछि फेला परेको छ।
स्थानीयवासी टीकाराम भोलनकी छोरी सुमित्राको शव शुक्रबार बिहान बगाएको स्थानबाट करिब ७ किलोमिटर तल मनहरी गाउँपालिका–३ लामीटारस्थित राप्ती नदीमा फेला परेको हो।
गत मंगलबार वासुदेव खोलामा आएको भेलले सुमित्रासहित चार बालिकालाई बगाएको थियो। तीमध्ये १३ वर्षीया सीमा भोलन भने सोही दिन बाढीबाट बाहिर निस्कन सफल भएकी थिइन्।
यसअघि भेलमा बगेका ८ वर्षीया रोशनी स्याङ्ताङ र १२ वर्षीया विनिता भोलनको शवसमेत फेला परिसकेको छ। रोशनीको शव बगेकै दिन भेटिएको थियो भने विनिताको शव बिहीबार फेला परेको थियो।
सुरक्षाकर्मी र स्थानीयको निरन्तर खोजी
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन तथा स्थानीयवासीले निरन्तर खोजी गरिरहेका थिए।
खोलामा पानीको बहाव बढेका बेला केही समय खोजी प्रभावित भए पनि पानीको बहाव घटेपछि पुनः खोजीलाई निरन्तरता दिइएको थियो।
सुमित्राको शव फेला परेसँगै घटनामा बगाइएका चार बालिकामध्ये तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनाले बस्तीपुरमा शोक छाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्