काठमाडौँ । विश्वभर आज शुक्रबार ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदै छ। आतङ्कवादबाट पीडित तथा प्रभावित व्यक्तिको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१७ मा प्रत्येक वर्ष अगस्ट २१ लाई आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। दिवसको मुख्य उद्देश्य आतङ्कवादबाट प्रभावित तथा बाँचेकाहरूलाई सम्मान गर्नुका साथै उनीहरूको अधिकार संरक्षण र आवश्यक सहयोग सुनिश्चित गर्नु हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।
संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रवर्द्धन तथा पीडितको मानव अधिकार संरक्षणमा जोड दिँदै आएका छन्।
सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता आतङ्कवादका पीडितलाई सहयोग गर्ने विषय औपचारिक प्रतिबद्धतामा मात्र सीमित नराखी उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको राष्ट्रसङ्घले जनाएको छ।
सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनुका साथै आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण कदम मानिएका छन्।
त्यस्तै, सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ।
उक्त प्रस्तावले सदस्य राष्ट्रहरूलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्काल, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहित गरेको छ।
सन् २०२२ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलनसमेत आयोजना गरिएको थियो।
राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ।
सो कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ। साथै, पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन नागरिक समाज तथा निजी क्षेत्रका संस्थासँग सहकार्य गर्नसमेत प्रोत्साहन गर्दै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्