काठमाडौँ । राप्रपा बाग्मती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पार्टी कार्यसम्पादन समितिले आफूलाई साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीमा असन्तुष्टि जनाएका छन् । पार्टीको कारबाहीविरुद्ध अदालत जाने उनले बताए ।
राप्रपा केन्द्रले समयमा मार्गनिर्देशन नदिएपछि आफूले संसदीय दलको बैठक राखेर निर्णय लिएको थापाको भनाइ छ । संसदीय दल बैठकमा बहुमत सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएको उनले बताए ।
सञ्चारकर्मीहरूसित कुरा गर्दै थापाले आफ्नो पार्टीबाट योग्य सांसदहरू मन्त्री भएको र डेलिभरी दिएर देखाउने दाबी पनि गरेका छन् ।
थापाको भनाइ उनकै शब्दमा:
पार्टीले त्यसो गर्यो (कारबाही) भन्ने पनि मैले सुनेको छु । बैठकमा व्यापकरूपमा सबै कुरा नबुझिकन यो गर्नुहुन्न भनेर धेरै छलफल भयो भन्ने पनि सुनेँ । यो हुनै हुन्न, यसरी गर्नै हुँदैन, यसरी गरियो भने यो निर्णय गलत हुन्छ भनेर समेत नोट अफ डिसेन्ट लेखिएको कुरा पनि आइसकेको छ । अब पार्टीले एउटा ढङ्गबाट हामीलाई उठायो, कारबाही गर्यो, तर त्यसको अब विरुद्धमा जाने अथवा त्यसको खिलाफमा जाने अथवा त्यसलाई न्याय पाउनको लागि न्यायालयमा जाने कुराहरू बाँकी नै छ ।
बागमती प्रदेशमा अहिले यो जुन परिस्थिति सिर्जना भयो- राप्रपा नभईकन सरकार नबन्ने अवस्थामा हामी अनिर्णयको बन्दी बन्यौं । हामीले एक महिनासम्म निरन्तर पार्टीमा हाम्रो कुराहरू राख्यौँ । विशेषगरी साउन २० गतेको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने गरी अध्यक्षज्यूलाई जिम्मेवारी दिएको थियो । अध्यक्ष ज्यूलाई हामीले संयुक्त रूपमा माननीयहरू गएर कुरा गर्यौँ । व्यक्तिगत रूपमा ३-४ चोटी, ५ चोटीसम्म मैले ‘वान टु वान’ कुरा गरेँ । ‘यसो-यसो छ हजुर, यस्तो छ’ भनेर सबै कुरा देखाउँदा पनि उहाँले त्यो सुनुवाइ गर्नुभएन ।
यहाँ ७२ घण्टाको सूचना आइसकेपछि, उपयुक्त समयमा उपयुक्त निर्णय हुने बेलामा पनि निर्णय नआएपछि बागमती प्रदेशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने निष्कर्षमा हामी पुग्यौँ । हामीले भने अनुसारको सङ्घीयता खारेज हुने कुरा- यत्तिकैले मात्रै सङ्घीयता खारेज हुँदैन भन्ने हामीलाई लागिसकेपछि राप्रपा जिम्मेवार बन्नुपर्छ भन्ने ढङ्गबाट अगाडि बढेका हौँ । म दलको पनि नेता भएको कारणले गर्दा संसदीय दलमा माननीय ज्यूहरूले ‘तपाईँले हाम्रो कुराको प्रतिनिधित्व गर्दिनुपर्छ, तपाईँ हाम्रो नेता हो, बैठक राख्नुस् र बहुमत सङ्ख्याले हामी सरकारमा जाने निर्णय गर्छौँ’ भन्नुभयो ।
मलाई पार्टीको एकातिरको प्रेसर, अर्कोतिर मन्त्री बन्नुपर्ने र बागमती प्रदेश सरकारलाई एउटा मार्गप्रशस्त गर्दिनुपर्ने कुराहरू सिर्जना भइसकेपछि एउटा जिम्मेवारी आयो । त्यो जिम्मेवारीमा मैले बैठक राखेँ । बहुसङ्ख्यक माननीयज्यूहरूले सरकारमा गठबन्धन गर्ने अथवा उपयुक्त गठबन्धनसँग समन्वय गरेर सरकारमा जाने भन्ने निर्णय लेख्नुभयो । म अध्यक्षता गरिरहेको बैठकमा बहुमत सङ्ख्याले त्यसो भनिसकेपछि मैले पनि सही गर्नुपर्ने हुन्छ । मेरो अध्यक्षतामा बसेको बैठकले निर्णय भयो । निर्णय भइसकेपछि हामी सरकारमा सहभागी भएका हौँ ।
यो सरकारको वैधानिकता आजबाट सुरु भयो । शपथ ग्रहण सिद्धिएको तपाईँहरूले अगाडि देखिहाल्नुभएको छ । अब पार्टीले गरेको कुरामा जाने ठाउँ छ । हामी पनि न्याय माग्न जान्छौँ । यो पार्टीमा पार्टी स्थापनाकालदेखि काम गरेको मान्छे हुँ । म स्पष्टसँग भन्छु- आजसम्म मैले कहिल्यै पार्टीको अहितमा काम गरेको छैन, अहिले पनि गरेको होइन र भविष्यमा पनि गर्दिन भन्ने कुरा तपाईँहरूकै मिडियामार्फत जानकारी गराउन चाहन्छु ।
अहिले पनि म संसदीय दलको नेता हो । काठमाडौँ ८ (ख) बाट निर्वाचित माननीय हो । यो बागमती प्रदेश सभा सदस्य हुँ । त्यसले गर्दा म अहिले पनि बागमती प्रदेश सभाको सदस्य नै छु । सदस्य रहुन्जेलसम्म बहुमत सङ्ख्याले मलाई नहटाएसम्म म संसदीय दलको नेता हो ।
पार्टीको निर्णय मलाई आधिकारिक रूपमा आएपछि त्यसको विरुद्धमा म अदालत जाने, न्याय खोज्न जाने कुरा बाँकी नै छ ।
अब रह्यो कुरा सरकारमा गएर के गर्नुहुन्छ भन्दाखेरि- हाम्रो एउटा जिम्मेवारी के हुन्छ भने जनताको र देशको सेवा गर्ने भन्ने हामीभित्र भावना छ । त्यसकारण राप्रपाले सञ्चालन गरेको सरकार कस्तो हुन्छ भन्दा चुस्त हुन्छ, दुरुस्त हुन्छ, स्पष्ट डेलिभरी दिन्छ । भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्ने पार्टीका मान्छे हौँ हामी । त्यही बमोजिम हामीले काम गर्छौँ ।
विगतको ४७ दिन मन्त्री भएको मान्छे हुँ म । अब हामी यो अवधिमा निस्फिक्रीसाथ काम गर्छौँ । योग्य साथीहरू हुनुहुन्छ । आज शपथ खानुभयो- गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिले । उहाँहरूको सफल कार्यकालको शुभकामना दिन चाहन्छु । मलाई लाग्छ राष्ट्रिय प्रजातन्त्र पार्टी एकदमै तपाईँहरूको नजरमा यिनीहरू चाहिँ रहेछन्, यिनीहरूले पनि गर्न सक्दा रहेछन् भन्ने कुरा देखाउँछौँ भन्ने मलाई लाग्छ, म विश्वस्त छु ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्