काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा करिब १२ वर्षदेखि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएको छ।
शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरण र ललितपुर जिल्ला आयुक्तको कार्यालयको संयुक्त टोलीले भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका अनधिकृत तथा अतिक्रमित संरचनामा डोजर चलाएर हटाएको हो।
भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलका अनुसार आयोजनाले साउन २७ गते सात दिने सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको थियो।
तोकिएको समयसीमाभित्र संरचना नहटाएपछि प्राधिकरणले डोजर प्रयोग गरेर अतिक्रमित संरचना हटाएको पौडेलले बताए।
आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण र ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न आग्रह गर्दै आएको थियो। अतिक्रमण हटाइएपछि सडक निर्माणको कामलाई तीव्रता दिने तयारी गरिएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार यसअघि पनि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिएको थियो। तर विभिन्न कारणले तत्काल कार्यान्वयन हुन सकेको थिएन।
प्राधिकरणले अब आयोजना क्षेत्रमा हुने अतिक्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्ने र भविष्यमा स्वीकृत मापदण्डविपरीत संरचना निर्माण हुन नदिने जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्